इन्डोनेसियामा समुद्रबीच डुंगामा आगलागी, ११२ जनाको उद्धार

 संवाददाता    २०८३, २७ श्रावण बुधबार १६:०१     7 जनाले पढ़िसके



Spread the love

इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको समुद्रमा बुधबार ‘पुत्री यास्मिन’ नामक डुंगामा आगलागी हुँदा ११२ जनालाई उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

एक स्थानीय अधिकारीलाई उधृत गर्दै जापानी मिडियाले जनाएअनुसार नजिकैको डुंगाले ३६ जनालाई उद्धार गरेर बालीमा फिर्ता ल्याएको थियो भने खोजी तथा उद्धार एजेन्सीको जहाजले ५९ जनालाई उद्धार गरेको हो।

नौसेनाको एउटा जहाजले थप १७ जनालाई पानीबाट उद्धार गरेको जनाएको छ।

डुंगामा ११४ यात्रु र १७ जना चालक दलका सदस्य रहेको अधिकारीहरूलाई उधृत गर्दै स्थानीय मिडियाले जनाएका छन् भने यात्रु तथा चालक दलका सदस्यहरूको हताहत भएको कुनै पनि खबर हालसम्म पुष्टि भएको छैन।

पुत्री यास्मिन डुंगा बालीबाट नजिकैको टापु लोम्बोकतर्फ जाँदै गर्दा आगलागी भएको तथा आगलागीको कारण अझै स्पष्ट हुन नसकेको जनाइएको छ।