शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐनका विषयमा प्रदेशगत रूपमा थालेको ‘शिक्षा संवाद’ कार्यक्रममा आफूलाई वास्ता नगरिएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गरी शिक्षक कर्मचारी पेसागत विषयमा नीति संवाद भइरहँदा शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्था नेपाल शिक्षक महासंघको संस्थागत उपस्थिति नखोजिनु र नराखिनुले शिक्षक-कर्मचारीका समस्या र पेसागत आन्दोलनप्रति मन्त्रालयको बेवास्ता प्रस्ट भएको आरोप लगाएको हो।
चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा गम्भीर बनी अविलम्ब आफूलाई सच्याउन हामी मन्त्रालयको ध्यानाकर्षण गराउँछौँ। अन्यथा यसबाट सिर्जना हुने असजिलो परिस्थितिप्रति मन्त्रालय आफैँ जिम्मेवार हुने कुरा समेत प्रस्ट पार्न चाहन्छौँ।’

शिक्षा ऐन निर्माणअघि देशभरका शिक्षा सरोकारवालाको आवाज सुन्न भनेर शिक्षा मन्त्रालयले प्रदेशगत रूपमा स्थानीय सरोकारवालासँग संवाद गर्ने कार्यक्रम सुरु गरेको छ।
यसअन्तर्गत पहिलो दिन शनिबार मन्त्रालयले कोसी प्रदेशको विराटनगरमा ‘शिक्षा संवाद’ कार्यक्रम सम्पन्न गरेको छ।
विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायत शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता थियो।
विराटनगरबाट सुरु गरिएको ‘शिक्षा संवाद’ अभियानको दोस्रो दिन आज मधेस प्रदेशको छलफल जनकपुर गरिँदै छ।