जाजरकोट पहिरोमा मृतकको संख्या ३ पुग्यो, २ जनाको खोजी जारी

 संवाददाता    २०८३, ३१ श्रावण आईतवार ११:२५     16 जनाले पढ़िसके



Spread the love

अविरल वर्षाको कारण जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

पहिरोमा बेपत्ता भएका दुई जनाको खोजीकार्य जारी राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्तामध्ये सोही ठाउँ बस्ने ५४ वर्षीया उमा सिँह खत्री, ८३ वर्षीया रती खत्रीको खोजीको क्रममा शव फेला परेको हो भने घाइते ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी सोही नगरपालिका–२ चिसापानी बस्ने ७० वर्षिय भिम बहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ बस्ने १४ वर्षिय हरिस बि.क. पहिरोमा अझै वेपत्ता छन्।

हरिस बि.क. पहिरो पश्चात घरबाट निस्किएकोमा सम्पर्कविहीन भएका हुन्। खोज तथा उद्धारको लागि परिचालित टोलीले उनीहरूको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ।

पहिरोले ८ वटा घरमासमेत ठुलो क्षति पुगेको छ।

साउन ३० गते साँझ ५ः३० बजे आएको पहिरोमा परी सोही ठाउँ बस्ने ६२ बर्षिय राम बहादुर शाही, ४५ बर्षिय सिद्धि बहादुर कामी, ५८ बर्षिया कमला कार्की, २३ बर्षिया अनिता कार्की, १० बर्षिय युनिस शाही, ४५ बर्षिया सुन्तली चदरा र ६१ बर्षिया भद्रकला कार्की घाइते भएका छन्।

घाइतेमध्ये राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको छ।

पहिरोमा परी वेपत्ता भएकाहरुको खोजी कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली साउन ३१ गते बिहान परिचालन गरिएको हो।

जिल्ला अस्पताल जाजरकोटमा उचार पश्चात नेपालन्ज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत सोही नगरपालिका–२ साल्धारा बस्ने ५२ बर्षिय केदार कार्कीको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

पहिरोमा परे ११ जना घाइते भएका छन्। उपचार पश्चात ३ जना डिस्चार्ज भएका प्रहरीले जनाएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोट, नेपाली सेना र नेपाल प्रहरीको गरि १ सय ५५ जनाको संयुक्त टोली खटिएको छ।

प्रहरीका अनुसार पहिरोको जोखिमलाई दृष्टिगत गरी सो वडाका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ।

हेर्नुहोस् उद्धार कार्यको थप तस्बिर