शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐन निर्माणअघि प्रदेशगत छलफल थालेको छ।
सातै प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यअन्तर्गत पहिलो दिन शनिबार मन्त्रालयले कोसी प्रदेशको विराटनगरमा ‘शिक्षा संवाद’ कार्यक्रम सम्पन्न गरेको छ।
विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायत शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा शिक्षाविद् प्रोफेसर डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटालगायत सहभागी थिए।
कार्यक्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शिक्षा नीति दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले कम्तीमा २५/३० वर्षसम्म काम गर्ने गरी दूरदर्शी शिक्षा नीति निर्माण गर्नुपर्ने बताए।
उनले शिक्षा ऐन निर्माणअघि नै देशभरका शिक्षा सरोकारवालाको आवाज सुन्न आवश्यक रहेकाले सातै प्रदेशमा पुगेर स्थानीय सरोकारवालासँग संवाद गर्ने कार्यक्रम राखिएको बताए।

विराटनगरबाट सुरु गरिएको ‘शिक्षा संवाद’ अभियानको दोस्रो दिन आज मधेस प्रदेशको छलफल जनकपुर गरिँदै छ।
अभियानअन्तर्गत सातै प्रदेश पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरिने मन्त्रालयले जनाएको छ।