इरानी धम्कीपछि क्याटरिङ ट्रकमा लुकेर जहाज फेरेको ट्रम्पको खुलासा

 संवाददाता    २०८३, २७ श्रावण बुधबार १३:४४     5 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्किने क्रममा सम्भावित सुरक्षात्मक खतराका कारण आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन्।

ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै आफूले अमेरिकी गुप्तचर सुरक्षा सेवा र सेनाको सुझाव मानेको बताए। उनले भने, ‘म गुप्तचर सुरक्षा सेवा र सेनाको कुरा मान्छु। उनीहरू म अर्को उडान र अर्को विमानबाट जाऊन् भन्ने चाहन्थे। मैले उनीहरूले भनेअनुसार गर्नुपर्थ्यो।’

यो घटनाबारे जानकारी त्यतिबेला सार्वजनिक भएको हो, जतिबेला जुलाई ८ मा ट्रम्प टेलिभिजन क्यामेरासामु टर्कीको अंकारा विमानस्थलमा ‘एयर फोर्स वन’ मा चढेको देखिएको थियो। तर त्यसपछि उनी क्याटरिङ ट्रकको सहयोगमा अर्को सैन्य विमानमा पुगेका थिए।

अन्तिम समयमा विमान परिवर्तन गरिएको घटनाले सुरक्षासम्बन्धी प्रश्नसमेत उठाएको छ। सुरुमा देखाइएको विमानमा रहेका पत्रकार र ह्वाइट हाउसका कर्मचारीलाई ट्रम्प विमानमा नरहेको जानकारी थिएन।

उनीहरूलाई सम्भावित इरानी खतराको जवाफस्वरूप राष्ट्रपति गोप्य रूपमा अर्को विमानमा सारिएको योजनाबारे थाहा नभएको बताइएको छ।

तर ट्रम्पले आफू पछि चढेको सैन्य विमान नै ‘झन् बढी जोखिममा’ रहेको बताएका छन्। अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजलाई बताएअनुसार इरानले विमानमाथि क्षेप्यास्त्र हमला गर्न सक्ने आशंका थियो।

ट्रम्पले अंकारामा भएको नेटो सम्मेलनका क्रममा आफू इरानको ‘टार्गेट नम्बर वन’ रहेको यसअघि नै बताएका थिए। मंगलबार उनले सम्भावित खतराबारे आफूलाई जानकारी भए पनि त्यसबारे धेरै सोधपुछ नगरेको बताए।

‘मेरो अनुमानमा कुनै खतरा थियो। मैले यसबारे धेरै जानकारी मागिनँ। मलाई धेरै धम्की आउँछन्,’ ट्रम्पले भने। उनले आफूलाई आउने कतिपय धम्कीबारे सार्वजनिक रूपमा थाहा नहुनेसमेत बताए।

कसरी बदलिएको थियो विमान ?

ट्रम्प टर्की पुग्दा कतारले उपलब्ध गराएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग गरेका थिए। तर फर्किने क्रममा उनले पुरानो ‘एयर फोर्स वन’ प्रयोग गर्ने बताएका थिए।

जुलाई ८ मा सार्वजनिक भएको भिडियोमा ट्रम्प अंकारा विमानस्थलमा राष्ट्रपतिको विमानमा चढेको देखिन्छ। तर वासिङ्टन पोस्टका अनुसार उनी त्यसपछि विमानबाट क्याटरिङ ट्रकमार्फत बाहिर निस्किए। उक्त ट्रकलाई विमानको तहसम्म उठाइएको थियो।

त्यसपछि ट्रम्पलाई गोप्य रूपमा सानो सी–३२ए सैन्य विमानमा लगिएको थियो। यो बोइङ ७५७ को परिमार्जित संस्करण हो, जसको प्रयोग प्रायः अमेरिकी उपराष्ट्रपतिले गर्छन्।

रक्षामन्त्री पिट हेगसेथ पनि छुट्टै बाहिरी भर्‍याङबाट सी–३२एमा चढेका थिए। यसो गर्नुको उद्देश्य ट्रम्प नियमित रूपमा ‘एयर फोर्स वन’ बाटै फर्किएको जस्तो देखाउनु रहेको बताइएको छ।

यसैबीच पत्रकार र ह्वाइट हाउसका केही कर्मचारी ‘एयर फोर्स वन’ मै बसे। उनीहरूलाई विमानका झ्यालका पर्दा बन्द राख्न भनिएको थियो। विमानमा रहेका पत्रकारलाई राष्ट्रपति त्यहाँबाट हटिसकेको जानकारी थिएन।

एक फोटोग्राफरले केही समयका लागि झ्यालको पर्दा खोलेपछि तत्काल बन्द गर्न भनिएको थियो। उनलाई यो राष्ट्रपतिको सुरक्षामा खटिएको गुप्तचर सुरक्षा सेवाको अनुरोध भएको बताइएको थियो।

‘एयर फोर्स वन’ को कलसाइन पनि परिवर्तन

प्राविधिक रूपमा अमेरिकी राष्ट्रपति सवार हुने जुनसुकै विमानको कलसाइन ‘एयर फोर्स वन’ हुन्छ। तर उक्त घटनामा ट्रम्प सवार सी–३२ए विमानले ‘रिच १८’ कलसाइन प्रयोग गरेको थियो।

पत्रकारहरूलाई बोकेको विमानले भने ‘एएफ१’ कलसाइन प्रयोग गरिरह्यो। यसबाट राष्ट्रपति अझै त्यही विमानमा रहेको भ्रम कायम राखिएको थियो।

ट्रम्प त्यसपछि अमेरिका फर्कने क्रममा बेलायत पुगे। त्यहाँ आरएएफ मिल्डेनहलमा उनी पुनः पुरानो ‘एयर फोर्स वन’ मा सवार भएको देखिएका थिए। त्यसपछि उनी कतारले उपलब्ध गराएको नयाँ ‘एयर फोर्स वन’ मार्फत वासिङ्टन फर्किएका थिए।

उक्त उडानका क्रममा ट्रम्पले विमानमा रहेका पत्रकारहरूसँग कुरा गर्दै इरानबाट उत्पन्न हुन सक्ने खतराको उल्लेख गरेका थिए। तर उनले आफूले टर्कीबाट फर्किँदा विमान परिवर्तन गरेकोबारे भने केही बताएका थिएनन्।

पत्रकारहरूले विमानका झ्यालका पर्दा किन बन्द गर्न भनिएको थियो भनेर सोध्दा ट्रम्पले त्यतिबेला ‘सायद तपाईं खतरनाक उडानमा हुनुहुन्छ’ भन्दै आफूलाई सामना गर्नुपर्ने खतरनाक व्यक्तिहरूका कारण यस्तो गरिएको बताएका थिए।

उनले आफ्नो ज्यानमा ‘सधैँ खतरा’ रहेको र इरानको ‘सूची’मा आफू ‘नम्बर एक’ रहेको दाबीसमेत गरेका थिए।