स्वास्थ्यमन्त्रीको आलोचना गरेका स्वास्थ्यकर्मी पक्राउपछि २० घण्टामै रिहा

 संवाददाता    २०८३, २३ असार मंगलवार १६:०६     0 View



Spread the love

स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गरेको आरोपमा पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी) रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी मधुसूदन न्यौपानेले अधिकारीलाई हिरासतबाट मुक्त गरिएको पुष्टि गर्दै उनीविरुद्ध हालसम्म कुनै ठोस प्रमाण वा औपचारिक उजुरी नपरेकाले सम्झाइबुझाइ छाडिएको बताए । प्रहरीले ‘माथिको आदेश’ मा पक्राउ गरिएको बताएको थियो ।

बारा गढीमाइ नगरपालिका निवासी एचए अधिकारीलाई सोमबार साँझ साढे ७ बजेतिर जनकपुरधामको पिडारी चोकबाट पक्राउ गरिएको थियो । पक्राउपछि स्वास्थ्यकर्मीहरूले निरन्तर विरोध प्रदर्शन गरेका छन् । उनको पक्राउलाई लिएर सामाजिक सञ्जालमा प्रहरी र सरकारको आलोचना भएको थियो ।

अधिकारीले सेवा-सुविधा, दरबन्दी, पेशागत असुरक्षालगायतका पीडा पोख्दै समस्या समाधान गर्न नसके राजीनामा गर्न भनेका थिए । गत शनिबार अधिकारीले फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीरमा रातो रङले क्रस चिन्ह लगाउँदै ‘माफिया मन्त्री’ लेखिएको पोस्ट सार्वजनिक गरेका थिए ।