अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयरसहित ३ जना र एउटा कन्स्ट्रक्सन कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सर्तविपरित कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, सर्तविपरित बढी परिमाणको गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
भ्रष्टाचार मुद्दा लगाइएकाहरुमा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, सो तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रालिका राधेश्याम शाह छन्। उनीहरुबाट जनही २ करोड ७५ लाख ६६ हजार बिगो तथा कैद सजाय माग गरिएको छ।