श्रीलंकाको जेलमा हिंसात्मक झडप, कम्तीमा १९ जनाको मृत्यु, सयौँ घाइते

 संवाददाता    २०८३, २२ असार सोमबार १६:११     0 View



Spread the love

श्रीलंकाको राजधानी कोलम्बो नजिकैको एक कारागारभित्र झडप हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो झडमा १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

राजधानी कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा पर्ने नेगोम्बो कारागारमा आइतबारदेखि सुरु भएको झडप सोमबारसम्म पनि जारी रहेको थियो ।

नेगोम्बो अस्पतालकी निर्देशक पुष्पा गमलाथले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार अस्पतालमा ४ जना सुरक्षाकर्मी र १५ जना कैदी गरी कुल १९ जनाको शव ल्याइएको छ ।

अस्पतालमा १०० भन्दा बढी घाइते कैदीहरूलाई उपचारका लागि भर्ना गरिएको उनले बताइन् ।

प्रहरी प्रवक्ता चन्दना हेराथले कारागारमा झडप भएको र मानिसहरूको मृत्यु भएको पुष्टि गरे पनि थप विवरण भने दिएका छैनन् ।

कडा सुरक्षा घेराभित्र रहने कारागारमा यति ठूलो झडप के कारणले भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।