नवलपरासीमा सवारी दुर्घटना, १० यात्रु घाइते

 संवाददाता    २०८३, २३ असार मंगलवार १५:५७     3 जनाले पढ़िसके



Spread the love

नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ तारेभिरस्थित पूर्व–पश्चिम राजमार्गमा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा काठमाडौँको काठमाडौँ महानगरपालिका–१० कपन बस्ने ३३ वर्षीय बद्री मगर, काठमाडौँ स्वयम्भू बस्ने २५ वर्षीय नेत्रलाल नेवा, भारतको बैंगलोर बस्ने ६५ वर्षीय जगदीश बिएल, चितवनको कालिका नगरपालिका ३ पदमपुर बस्ने ६५ वर्षीया यनु मगर, रुपन्देहीको रुपन्देही बुटवल उपमहानगरपालिका ४ अमरपथ बस्ने ४० वर्षीय रुप गुरुङ, माईक्रोबसका सहचालक ३५ वर्षीय गोविन्द थापा, माईक्रोबस चालक बुटवल उपमहानगरपालिका १२ ढवाह बस्ने ४४ वर्षीय कृष्ण थापा रहेका छन्।

यस्तै, गुल्मीको इस्मा गाउँपालिका ६ बस्ने २१ वर्षीय किरण मुखिया, भारतको बैंगलोर, कर्नाटक बस्ने ६१ वर्षीय नन्जुण्डे गोडा र रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ बस्ने २८ वर्षीय प्रकाश भट्टराई पनि घाइते भएका छन्।

घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ्। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुवै सवारीसाधन घटनास्थलमै रहेका छन् भने राजमार्गमा सवारी आवागमन सहज रहेको छ। ट्रक चालक मकवानपुरको थाहा नगरपालिका ११ बस्ने ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।