राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पदाधिकारी टीममा बालेन समूहलाई स्पेस दिनका लागि आन्तरिक गृहकार्य गरेको छ । बालेनको समूहबाट एक-एक जना उपसभापति र महामन्त्री मनोनीत गर्ने विषयमा छलफल चलिरहेको नेताहरूले बताएका छन् ।
आम निर्वाचनभन्दा केही समयअघिमात्र रास्वपा मिसिएको बालेन समूहबाट तत्कालीन समयमा २६ जना केन्द्रीय सदस्य मनोनीत भएका थिए । पछि भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाइयो । अब बन्ने केन्द्रीय समिति र पदाधिकारी टीममा पहिले भन्दा बढी स्पेस दिने गरी गृहकार्य भएको हो ।
रास्वपाले आफ्नो विधान संशोधन गरेर केन्द्रीय सदस्य संख्या १५१ पुर्याएको छ । यसमध्ये ५१ जना सभापतिले मनोनित गर्नेछन् । यस्तै एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री पनि सभापतिले मनोनित गर्ने व्यवस्था मिलाइएको छ । बालेनतर्फका आकांक्षीहरूलाई समेट्नका लागि यो संशोधन गरिएको नेताहरूले बताइरहेका छन् ।
समायोजनतर्फका एक नेताले बालेन समूहबाट उपसभापति र महामन्त्री एक-एक जना मनोनीत हुने निश्चित रहेको बताए । उपसभापतिमा सुनील लम्साल र महामन्त्रीमा भूपदेव शाहको सम्भावना प्रबल रहेको उनको भनाइ छ ।
‘उहाँहरूको विषयमा उच्चस्तरमा लगभग सहमति भइसकेको छ, ती नेताले भने, ‘केन्द्रीय समितिमा पनि समायोजन भएर आएकाहरुलाई अन्यायमा पर्न नदिने वचन सभापतिले दिनुभएको छ ।’
स्थापनतर्फका एक नेताले भने पदाधिकारीमा मनोनीत गर्ने व्यक्तिको बारेमा टुंगो नलागिसकेको बताए । लम्साल र शाहको नाममा छलफल भए पनि अध्यक्ष निर्णयमा नपुगिसकेको उनको दाबी छ ।
रास्वपामा अब सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री र ९९ जना केन्द्रीय सदस्यहरुको मात्र चुनाव हुनेछ । बाँकी पदहरूमा सभापतिले मनोनीत गर्नेछन् ।