जापानको प्रभावशाली प्रदर्शन, ट्युनिसिया ४–० ले पराजित

 संवाददाता    २०८३, ७ असार आईतवार १२:२७     10 जनाले पढ़िसके



Spread the love

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार जित निकालेको छ।

स्टाडियो मोन्टेरीमा भएको खेलमा जापानले ट्युनिसियाविरुद्ध ४-० को जित निकालेको हो।

जापानले खेलको चौथो, ३१औँ, ६९औँ र ८३औँ मिनेटमा गोल गर्‍यो। समूह ‘एफ’को खेलको चौथो मिनेटमै जापानका दाइची कामाडाले पहिलो गोल गर्दै अग्रता बनाएका थिए।

दाइची कामाडाले चौथो र आयसे युएदाले ३१औँ र ८३औँ मिनेटमा गोल गरेका हुन्। त्यसैगरी जुनियले ६९औँ मिनेटमा गोल गरे।

यो जितसँगै जापानको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ। दुई खेलबाट जापानको ४ अंक भएको छ।

सो समूहबाट नेदरल्यान्ड्सको पनि समान ४ अंक छ। ३ अंक रहेको स्विडेन तेस्रो र अंकविहीन अवस्थामा ट्युनीसिया पुछारमा छ।

जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको थियो।

ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो ।

जापान र ट्युनिसिया २००२ पछि विश्वकपमा पुनः आमनेसामने भएका हुन्।

त्यतिबेला जापानले ट्युनिसियालाई २–० गोलले पराजित गरेको थियो।

विश्वकप फुटबल अन्तर्गत आज राति नेपाली समयअनुसार पौने १० बजे स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराति पौने १ बजे बेल्जियम र इरान, भोलि बिहान पौने ४ बजे उरुग्वे र केपभर्डे अनि बिहान पौने ७ बजे न्युजिल्यान्ड र इजिप्टले खेल्ने तालिका छ।