निरज भट्ट धादिङबेसी, — नीलकण्ठ नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा ४.० GPA प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गर्ने पाँच जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
सम्मानित विद्यार्थीहरूमा दिप्सन छत्कुली, नविना श्रेष्ठ, प्रसंशा गुरुङ, बिपिसा सुबेदी तथा रोजिना चौलागाई रहेका छन्।
यीमध्ये दिप्सन छत्कुली, नविना श्रेष्ठ, प्रशंसा गुरुङ र बिपिसा सुबेदी नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय का विद्यार्थी हुन् भने रोजिना चौलागाई न्यू किबो बोर्डिङ स्कुल की विद्यार्थी हुन्। उनीहरूले SEE २०८२ मा ४.० GPA प्राप्त गर्दै विद्यालय तथा नगरपालिकाको गौरव बढाएका छन्।
जेठ २३ गते आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिकाले उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै पाँचै जना विद्यार्थीलाई प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरेको हो। कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको थियो।
नगरपालिकाले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरित गर्नुका साथै शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ। स्थानीय तहबाट गरिएको यो सम्मानले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।