फिफाको ढोका ढकढक्याउँदै इरान, अमेरिकामाथि भेदभावको आरोप

 संवाददाता    २०८३, ५ असार शुक्रबार १६:०१     11 जनाले पढ़िसके



Spread the love

सन् २०२६ को फिफा विश्वकपको सह-आयोजक संयुक्त राज्य अमेरिकाले यात्रामा कडाइ गरेकोप्रति इरानले फुटबलको सर्वोच्च निकाय फिफामा आधिकारिक उजुरी दिने भएको छ।

इरानी टोली खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न पाउने र खेल सकिएकै दिन देश छाड्नुपर्ने भिसाको सर्तका कारण टोलीको तयारीमा गम्भीर असर परेको इरानको गुनासो छ ।

लस एन्जलसमा न्युजिल्याण्डसँग भएको आफ्नो पहिलो खेल २-२ को बराबरीमा सकिएपछि इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले आक्रोश व्यक्त गरेका छन्। उनले इरान यस विश्वकपको ‘सबैभन्दा उत्पीडित’ टोली भएको टिप्पणी गरेका छन् ।

इरानी फुटबल महासंघले एक विज्ञप्ति जारी गर्दै यी प्रतिबन्धहरू सबै सहभागी टोलीहरूलाई समान अवस्था प्रदान गर्ने सिद्धान्तको विपरीत रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो प्रतिबन्धले टोलीको तयारी प्रक्रियामा नकारात्मक असर पार्न सक्छ। तसर्थ, महासंघले उचित माध्यमबाट फिफासमक्ष औपचारिक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै उजुरी दर्ता गर्नेछ ।’

मध्यपूर्वमा जारी युद्ध र सुरक्षा चिन्ताका कारण इरानको विश्वकप सहभागिता सुरुदेखि नै अन्योल र तनावपूर्ण रहँदै आएको छ। न्युजिल्याण्डसँगको खेलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानी टोलीको ‘ड्रेसिङ रुम’ मा पुगेर भेट समेत गरेका थिए।

इरानका अनुसार उनीहरूका कतिपय महत्त्वपूर्ण प्राविधिक कर्मचारीहरूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ। साथै, प्रतियोगिता सुरु हुनुभन्दा केही समयअघि मात्र इरानी समर्थकका लागि छुट्याइएको टिकटको कोटासमेत रद्द गरिएको थियो।

इरानले खेलभन्दा दुई दिनअघि आयोजक सहर पुग्न र खेलको भोलिपल्ट मात्र फर्कन पाउनुपर्ने माग राखेको थियो, जसलाई अस्वीकार गरिएको छ। महासंघका अनुसार बेल्जियमसँगको दोस्रो खेलका लागि पनि सोही समस्या दोहोरिएको छ ।

यता, अमेरिकी गृह सुरक्षा विभागका प्रवक्ताले भने इरानले सुरुमै यी सर्तहरूमा सहमति जनाएको दाबी गरेका छन् । ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू जिउलियानीले पनि इरानलाई खेलका लागि तोकिएको समय र नियमबारे पहिले नै जानकारी भएको बताएका छन् ।

उनले भने, ‘उनीहरूलाई खेलभन्दा एक दिनअघि आउन र खेल सकिएकै साँझ फर्कन अनुमति दिइनेछ ।’

सुरक्षा संवेदनशीलताका कारण इरानले आफ्नो क्याम्प अमेरिकाको एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारेको छ । इरानले अब जुन २१ मा लस एन्जलसमा बेल्जियमसँग र जुन २७ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।