‎दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका

 संवाददाता    २०८१, २८ चैत्र शुक्रबार १०:२४     130 जनाले पढ़िसके



Spread the love

पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशुलाई बेपत्ता पारिएकाे छ। ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरणशैलीमा बेपत्ता पारिएको‌ हो ।

‎‎उक्त शिशु तीन महिना अगाडि जन्मिएको हो । ‎बमबहादुरका दाजु दीपक बुढाका अनुसार घरमा सबै सुकिसकेका थिए । ‎घर पछाडिको रुखमा राखेको खरमा आगो लाग्यो ‌। उक्त कुरा सुरुमा कसैलाई पत्तै थिएन ।

‎’माथिल्लो घरका मान्छेले देखेर खबर गरे’ उनी भन्छन्, ‘त्यसपछि बच्चाको आमा, बुबादेखि सबै जना आगो निभाउन गए ।’ ‎लगत्तै घरमा आउँदा बच्चा नभएको उनले बताए।

बच्चालाई लिनमा लागि कुनै समूहले खरमा आगो लगाएको र निभाउन गएको मौकामा बच्चा उठाएर भागेको उनको शंका छ । ‎बेपत्ता पारिएको बच्चासँग अर्को छोरा पनि साथमा सुतेको थियो । आउँदा ठुलो बच्चा सुतिरहेकै भएपनि सानो बच्चा नभएको उनले बताए।

‎‎घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेर खोजतलास गर्दा कुनै क्लु पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए ।

‎’अचम्म लाग्दो घटना भयो,’ उनले भने, ‘अहिले पुनः त्यहाँ प्रहरी परिचालन गरेको छु।’ ‎परिवारले बच्चा खोजी दिनका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा आग्रह गरेका छन्।