प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनावी मैदानमा उत्रन सुझाव दिएका छन् । उनले संविधान बिपरित चलखेल गरे सह्य नहुने चेतावनी समेत दिए ।
सोमबार नेपाल बुद्धिजीवी संगठनको भक्तपुर जिल्ला सम्मेलनमा सापकोटाले पूर्व राजा गणतन्त्रविरुद्ध गतिविधि गर्न थाले नागार्जुन दरवारबाट पनि लखेटिने चेतावनी दिए ।
‘नेपाली जनता संयमित भएकोले त्यतिबेला नागार्जुनमा ठाँउ पाएको हेक्का होस, चुरीफुरी गरे नागार्जुनबाट पनि जनताले लखेट्ने छन्,’ उनले भने ।
उनले देशको अस्तित्व रहन नदिने षडयन्त्रसहित माओवादी र वर्तमान ब्यवस्थामाथि हमला गर्न खोजिएको तर्फ नेपाली जनता सचेत रहनुपर्ने बताए । माओवादी पार्टी नभई आन्दोलन भएको भन्दै उनले देश र जनताबिरुद्ध हुने सबैखाले षडयन्त्र विफल बनाउदै परिवर्तन तथा देश र जनताको रक्षा गर्ने दावी गरे ।
प्रवक्ता सापकोटाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणालीमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत बनाउने र समाजबादमा पुग्ने पार्टी रणनीतिको खुलासा समेत गरेका थिए ।
‘समाजबाद नै जनताको वास्तविक शासनब्यवस्था हो, जहाँ सबैको समानता र न्याय सम्भव छ ।’ उनले भने, ‘हाम्रो लक्ष यथास्थितिमा रहने होइन, समाजवादमा पुग्ने हो ।’ त्यतापट्टि अर्जुन दृष्टि राखेर अघि बढ्न उनले बुद्धिजीवीलाई निर्देशन दिएका थिए ।
नेपाल बुद्धिजीवी संगठन भक्तपुर जिल्ला सम्मेलनबाट डा श्यामशरण श्रेष्ठ अध्यक्षमा दोहोरिएका छन् र कार्यसमिति ५१ सदस्यीय बनेको माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल बासुले बताए ।