नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कथामा बनेको फिल्म ‘अञ्जिला’को प्रिमियर गरिएको छ ।
ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्स सिनेमाज भएको प्रिमिएरमा सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्याल, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्री केकी अधिकारी, अलिशा राई, निर्देशक ज्ञानेन्द्र देउजा, नबल नेपाललगायत चलचित्रकर्मीको समेत बाक्लो उपस्थिति थियो ।
प्रिमियरमा फिल्मका कलाकार दयाहाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्स समेत सहभागी थिए । फिल्मकी अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण उपस्थित हुन सकेनन् ।
फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको यो फिल्मले प्रिमिएरमा प्रशंसा पाएको छ । एन्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा सहभागी भावुक भएका थिए ।
कार्यक्रममा आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिप मात्र देखिरहेको तर यो फिल्मले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । उनले भने, ‘एपिएफ क्लबले एन्जिलालाई चिनायौँ, एन्जिलाले देशलाई चिनाइन् । यो फिल्म नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।’
पूर्व कप्तान गणेश थापाले फिल्म हेर्दा हेर्दा आफू ३–४ पटक रोएको बताए । ‘एन्जिलाले यति धेरै सङ्घर्ष गरेर आएको रहेछ । एन्जिलालगायत हामीले ती खेलाडीहरूलाई ध्यान दिन सकेनौँ भन्ने कुराको आत्मग्लानि भएको छ ।’
केकीले फिल्मले आफ्नो मन छेडेर गएको जनाइन् । ‘हाम्रो समाजमा महिलाहरू जुनसुकै क्षेत्रमा छन् भने पनि सङ्घर्षपूर्ण यात्रा पार गरेर आएको हुन्छ । त्यसमाथि पनि महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको सङ्घर्ष के कस्तो थियो भन्ने विषय फिल्म मार्फत आएको छ । यो एकदमै सशक्त छ ।’
निर्देशक नबल नेपालले छोराछोरीहरूले आफ्ना मातापितालाई सम्बोधन गर्ने फिल्म रहेको बताए ।
निर्देशक ज्ञानेन्द्र देउजाले नेपालमा नेपाली खेलाडीहरूले यति धेरै दुख गर्दा पनि राज्यको चेतना र लगानी किन छैन ? भन्दै प्रश्न उठाए । उनले एन्जिलाको कथासँगै राज्यको दृष्टिकोणले पनि भावुक बनाएको बताए ।
फिल्मका निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफूलाई हौसला मिलेको बताए ।
यसअघि हङकङ, कोरिया र बेलायत तथा नेपालको धरानमा समेत प्रिमियर भएको फिल्ममा एन्जिलाको अलावा प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको अभिनय छ ।