राप्रपाको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया मंसिर २ गतेदेखि सुरु हुने

 संवाददाता    २०८३, २० कार्तिक बिहीबार १५:३४     0 View



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको जनाएको छ।

पार्टीले महाधिवेशनका लागि सक्रिय सदस्यता वितरण तथा अभिलेखीकरणको प्रक्रिया टुङ्ग्याउँदै प्रतिनिधि छनोटको तयारी अघि बढाएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

उनले भने, ‘हिजो राति १२ बजेदेखि सक्रिय सदस्यताको नयाँ इन्ट्री बन्द गरिएको छ। विभिन्न माध्यमबाट इन्ट्री भएका सक्रिय सदस्यहरूको सूची आगामी कात्तिक २६ गते सबै जिल्लामा उपलब्ध गराउने कार्यतालिका तय गरिएको छ।’

सक्रिय सदस्यको कोटा पूरा भई योग्य भएका प्रदेशसभा निर्वाचन क्षेत्रमा आगामी मंसिर २ गतेदेखि १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरिने बताए।

प्रतिनिधि छनोट पार्टीको विधान र केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन निर्देशिकाबमोजिम गरिने उनको भनाइ छ। छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय निर्वाचन समिति र केन्द्रीय सचिवालयमा पठाइसक्नुपर्ने कार्यतालिका रहेको छ। राप्रपाकाे महाधिवेशन मंसिरकाे अन्तिममा हुँदैछ।