नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै कमजोर नैतिक धरातलमा नउभिएको बताएका छन्। बिहीबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै सभापति थापाले आफ्नो हात साफ रहेको बताए।
‘ढुक्क हुनुहोस् म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा,तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भने, ‘मेरा हातहरू सफा छन्। मेरा पक्षमा ढुक्कले बोल्नुहोस्। गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।’
कांग्रेसको आधिकारिताबारे बिचौलिया इनम सापकोटाको बयानमा आर्थिक लेनदेनको विषय उठेकोमा थापाले एक सुकाको अनुचित लेनदेन नगरेको बताए।
‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाईँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन।’
विद्रोह गर्नेले परिणाम चिन्ता नगर्ने भन्दै कांग्रेसको विशेष महाधिवेशन कांग्रेसभित्रको विद्रोह भएको बताए।