अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कंग्रेसलाई सम्बोधन गरेका थिए । यसक्रममा उनले धनी विदेशीहरूलाई अमेरिकामा लगानी गर्न प्रेरित गर्ने गोल्ड कार्ड भिजासम्बन्धी आफ्नो पछिल्लो नीतिको प्रशंसा गर्दै यसबाट हुने आम्दानीबाट सरकारी ऋण चुक्ता गर्ने बताएका थिए ।
पछिल्लो २४ वर्षमा कसैले पनि संघीय बजेटलाई सन्तुलनमा नराखेको तर आफूले यसलाई सन्तुलनमा राख्न चाहेको उनले बताए । ‘हामीले गोल्ड कार्डको लागि विस्तृत योजना बनाएका छौँ, जुन चाँडै नै ५० लाख डलरमा बिक्रीमा राखिनेछ’ ट्रम्पले भने ।
‘एकातिर, हामी अपराधी, हत्यारा, तस्कर, बाल यौन दुराचारीहरूलाई बाहिर निकाल्नेछौं र बुद्धिमान, मेहनती, रोजगारी सिर्जना गर्ने मानिसहरूलाई ल्याउनेछौं । उनीहरूले धेरै मुद्रा दिनेछन् र यो पैसाले हामी हाम्रो ऋण घटाउनेछौँ’ ट्रम्पले आप्रवासीहरूलाई आक्रमण गर्दै भने ।