जनकपुर — सिरहा जोड्ने कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखि भइरहेको अबिरल वर्षाले नदीमा बढेको पानीको बहाव थेग्न नसकेर पुलको पिलर भासिएको हो । यो पुलको पश्चिमतिरबाट तेस्रो नम्बरको पिलर भासिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार दुई फिट जति पिलर भासिएको सूचना आएको छ ।यसअघि गएको असारमा आएको बाढीले पूर्व तर्फबाट यो पुलको दोस्रो नम्बरको स्पान भासिएको थियो । ९९ प्रतशित काम सकेर उद्धघाटनको तयारीमा रहेको यो पुल भासिएपछि ठेकेदार कम्पनी पप्पु–लुम्बिनी जेभीलेले केही दिनभित्रै मर्मत गर्ने जनाएको थियो ।४७० मिटर लामो यो पुल निर्माणका लागि २०६८ सालमा पौने २५ करोडमा ठेक्का सम्झौता भएको थियो । ११ मिटर चौडाइ रहेको कमला पुलमा १२ वटा स्पान छ । लामो समयदेखि पुल निर्माण कार्य सम्पन्न नहुँदा सर्वसाधारण तथा किसानले डुंगा चढेर आवात जावत गर्दै आएका छन् ।