नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले शिवाकोटीलाई ब्युरोको कार्यालयमा बोलाइएको पुष्टि गरे।
‘उहाँविरुद्ध केही उजुरी परेका छन्’, एसपी गिरीले बिहीबार बिहान भने, ‘उहाँलाई फोन गरेर ब्युरोमा उपस्थित हुन भनेका छौँ।’
यस विषयमा थप कुरा बताउन भने नमिल्ने उनको भनाइ छ।
यद्यपि कांग्रेसनिकट मिडिया सेन्टरले काठमाण्डुपाटी अनलाइनका अध्यक्ष रोशन खड्काले उजुरी दिएपछि कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई ब्युरोले बोलाएको जनाएको छ।
शिवाकोटीले केही दिनअघि खड्काविरुद्ध दाइजो र उनकी श्रीमतीका विषयमा फेसबुकमा स्टाटस लेखेका थिए।
यसैबिच आज बिहान शिवाकोटीले पनि आफूलाई सरकारले खोजिरहन नपर्ने आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने बताएका छन्।
हाल आफू काठमाडौँ उपत्यकाबाहिर रहेको र काठमाडौँ फर्किन लागेको उनको भनाइ छ।
‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन’, उनले लेखेका छन्, ‘काठमाडौँ आउँदै छु।’
यद्यपि उनले हाल आफू कहाँ हो भन्ने कुरा खुलाएका छैनन्।