जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी टोलीले जिल्लाका फरकफरक दुई स्थानमा छापा मारी जुवातास खेलिरहेका १३ जनालाई नगद र ताससहित नियन्त्रणमा लिएको जनाएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले खैरहनी ८, पानीट्याङ्गीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ७७ हजार ९ सय ९५ रुपैयाँ नगद र १० थान तास बुक बरामद गरेको थियो। पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिकामा पक्राउ पर्ने ८ जनामाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, गएराति १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. १६ नविन चोकमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले थप ५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ३३ हजार ९ सय ९० रूपैयाँ नगद र २ बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी चन्द्रभुषण यादवले जानकारी दिए ।