इनम सापकोटाबारे सार्वजनिक समाचारको पुष्टि गर्न काठमाडौं प्रहरीको आग्रह

 संवाददाता    २०८३, १३ कार्तिक बिहीबार १४:४०     30 जनाले पढ़िसके



Spread the love

‘बिचौलिया’ को आरोपमा पक्राउ परेका इनम सापकोटासम्बन्धी विषयमा प्रेषित समाचारहरुको ‘आधिकारिकता पुष्टि गर्न’ प्रहरीले अनुरोध गरेको छ ।

उनीसँग ‘कनेक्सन भेटिएको’ भनी प्रहरीका आईजीपीसहित विभिन्न व्यक्तिका नामहरु आउने क्रम बढेपछि प्रहरीले त्यस्तो अनुरोध गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी एसपी दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा प्रचलित कानुन, विधि, प्रक्रिया बमोजिम उक्त मुद्दाको अनुसन्धानका विषयवस्तुहरू गोप्य रूपमा अनुसन्धान भइरहेको अवस्थामा त्यस्ता संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको उल्लेख छ ।

विज्ञप्तिमा अनुसन्धानको निष्पक्षता, व्यावसायिकता तथा गोपनीयता कायम राख्न उक्त कार्यालय सदैव प्रतिबद्ध रहेको भनिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थालाई पालना नगरेको खण्डमा कानुन बमोजिम हुने हुँदा मुद्दासँग सम्बन्धित सूचना एवं सामग्रीहरू सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकोले आधिकारिकता पुष्टि गर्न समेत अनुरोध गरिएको छ ।’

प्रहरी परिसर काठमाडौँले सापकोटालाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पक्राउ परेपछि उनको मोबाइलको प्राविधिक जाँचपछि राणासँगको सघन सम्बन्धमा उनलाई देखिएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

उनको मोबाइलको प्राविधिक जाँचका क्रममा प्रहरीका आईजीपी दानबहादुर कार्की, एआईजी राजन अधिकारी, पूर्वएआईजी तथा रास्वपा सांसद विश्वराज पोखरेल, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलसहितका व्यक्तिको कनेक्सन भेटिएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन् ।

त्यस्ता समाचारहरु परिसरबाट नदिइएको र त्यस्ता समाचार सम्प्रेषणका क्रममा आधिकारिकता पुष्टि गर्न जिल्ला प्रहरी परिसरले अनुरोध गरेको हो ।