जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले नेपाली श्रमिकको हकहित र संरक्षणको लागि काम गर्ने बताएकी छन्।
मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो योजना सुनाउँदै उनले नेपाल–जर्मनी सम्बन्ध थप प्रगाढ बनाउन भूमिका खेल्ने उल्लेख गरेकी हुन्।
सन् २०२८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने उल्लेख गर्दै उनले व्यापार घाटा न्यूनीकरण, पर्यटन प्रवद्र्धन र व्यवस्थित श्रम आप्रवासनमा सक्रिय भूमिका खेल्ने बताइन्।
जोशीले नेपाली गलैँचा, पस्मिना, हस्तकला र जडीबुटीजन्य सामग्रीको बजार विस्तारलाई प्राथमिकतामा राखेकी छन्।
त्यस्तै नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई जर्मनीसहित युरोपेली बजारमा प्रवर्धन गर्ने उनको योजना छ।
‘नेपालको आईटी वर्कफोर्स विश्वबजारमा प्रतिस्पर्धी छ भन्ने सन्देश हामीले युरोपमा दिनुपर्छ,’ उनले भनिन्।
यसैगरी प्रस्तावित राजदूत जोशीले पर्यटन प्रवर्द्धनका लागि जर्मनीबाट धेरै खर्च गर्ने पर्यटकलाई नेपाल भित्राउने रणनीति अख्तियार गर्ने धारणा राखिन्।
जर्मनीका प्रभावशाली व्यक्ति र सञ्चारकर्मीसँग समन्वय गरी डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने आफ्नो योजना रहेको उनले बताइन्।