बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव सम्बन्धमा प्रमुख राजमार्गहरूमा प्रारम्भिक पहिरो जोखिम आंकलन तथा पूर्वसूचना जारी गरेको हो ।
सूचनामा चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी केही दिनमा नेपालको विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा भई राजमार्गको क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने देखिएको भन्दै हुन सक्ने सम्भावित पहिरोजन्य जोखिमसम्बन्धी आंकलन गरिएको उल्लेख छ ।
सूचनाअनुसार पहाडी तथा भिरालो भू-बनोट भएका राजमार्ग खण्डहरूमा पहिरो खस्ने, ढुङ्गा खस्ने/झर्ने र सडक भासिने सम्भावना छ । नदी किनारका सडक खण्डहरूमा नदीको जलसतह बढेर बाढी तथा कटानको जोखिम हुने सम्भावना छ ।
पहिरो र बाढीका कारण सडक अवरुद्ध हुँदा यातायात सञ्चालन तथा अत्यावश्यक वस्तुको ढुवानीमा असर पर्न सक्ने सम्भावना छ । सानाठूला खहरे खोला तथा कल्भर्टमा पानीको बहाव बढेर सडक क्षति हुने सम्भावना रहेको उल्लेख छ ।
यसैगरी सूचनामा जोखिममा रहन सक्ने प्रमुख राजमार्ग खण्डहरू उल्लेख गरिएको छ ।
चक्रवात ‘अर्नब’को प्रभावले नारायणगढ-मुग्लिन सडक खण्ड (त्रिशूली र नारायणी नदी किनार), कोशी राजमार्ग तथा सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग तथा बागमती जलाधार क्षेत्रसँग जोडिएका सडक खण्ड र अन्य पहिरोको इतिहास भएका तथा नदी किनारका राजमार्ग खण्डहरू जोखिममा रहेको उल्लेख छ ।
सूचनामा बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ ।