सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले दागबत्ती दिए, काजकिरिया सके। दुर्घटना बीमा बापतको रकमसमेत बुझिलिए। तर, मोरङ लेटाङका ३७ वर्षीय पदमबहादुर राय जिउँदै रहेछन्। उनी अकस्मात घर आइपुगेका छन्।
अन्त्यष्टि भएको ६ महिनापछि राय घर फर्किँदा परिवार, समाज र प्रहरी वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ।
परिवारका लागि यो पुनर्जन्मको खुसी भए पनि यसले राज्यको अनुसन्धान संयन्त्र, शव पहिचानको प्रक्रिया र स्वास्थ्य क्षेत्रको हतारोमाथि गम्भीर प्रश्न उब्जाएको छ।
घटना के हो?
पदमबहादुर राय क्षेत्री २०८२ माघदेखि घरमा थिएनन्। कमजोर मानसिक अवस्थाका उनी कहाँ गए परिवारमा पत्तो थिएन। यसैबीच २०८३ जेठ २६ गते बिहान साढे ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते हुन्छन्।
दुर्घटनामा घाइते भएका ती व्यक्तिलाई उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ हस्पिटल लगिन्छ।
उनको उपचारकै क्रममा जेठ २७ गते उनको मृत्यु हुन्छ। त्यसपछि शव पोस्टमार्टमका लागि कोसी अस्पतालको शवगृहमा लगियो। शवको पहिचान खुलाउन सामाजिक सञ्जाल लगायतका माध्यममा प्रहरीले तस्बिरहरू सार्वजनिक गर्यो।
बेपत्ता छोराको खोजीमा रहेका बुबा नारायण राय क्षेत्री जेठ २९ गते कोसी अस्पतालको शवगृहमा पुग्छन्।
उनले शवगृहमा रहेको शव आफ्नै छोरा पदमबहादुरको हो भन्दै सनाखत गरिदिन्छन्। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउँछ।
त्यसपछि परिवारले परम्पराअनुसार शवको अन्त्येष्टि गर्छ। काजकिरिया सकिन्छ। त्यसपछि परिवारका सदस्यले दुर्घटना बीमाबापतको ५ लाख रुपैयाँसमेत बुझेका जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मकेन्द्रकुमार मिश्र बताउँछन्।
६ महिनापछि पदमबहादुर कहाँबाट आए?
तर परिवारका सदस्यले काजकिरिया सकेको ६ महिनापछि (गत कात्तिक ९ गते) पदमबहादुर अचानक आफ्नो घरमा आइपुग्छन्।
उनलाई देख्दा परिवार र गाउँका मान्छे तीन छक्क पर्छन्।
आफूले काजकिरियासमेत गरिसकेको छोरा साक्षात आँगनमा उभिएको देख्दा परिवार खुसी र आश्चर्य उत्पन्न हुन्छ।
परिवारका सदस्यका अनुसार पदमबहादुरको मानसिक अवस्था कमजोर थियो। बुझ्दै जाँदा उनी भौँतारिँदै भारतको पञ्जाबत पुगेर काम गरेर बसेको खुलेको छ।
घर आउनुअघिसम्म पदमबहादुरलाई आफू ‘मरिसकेको’ र आफ्नो काज किरियासमेत भइसकेको पत्तै थिएन।
उनी अकस्मात घरमा आइपुग्दा अब के गर्ने परिवारमा चिन्ता छाउन थाल्यो। बीमा बापतको रकम बुझिसकेको, मृत्यु लगायतका सबै प्रमाणहरू बनाइसकेको अवस्था थियो। परिवारका सदस्यमा तनाब सिर्जना भयो।
मृत भनिसकिएको व्यक्ति जीवितै फर्किएपछि अब कानुनी र प्रशासनिक रूपमा जटिलता थपिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मिश्रका अनुसार जीवित मान्छेलाई मृत बनाउन मिल्दैन। त्यसैले कानुनी प्रक्रिया पुर्याएर कागजात सच्याउनुपर्ने हुन्छ। आफूले सम्बन्धित परिवारलाई घटना भएकै जिल्ला सुनसरी नै जान सुझाव दिएको बताए।
कानुनी जटिलताका बीच परिवारका सदस्य बिहीबार बिहानै घटनाको कानुनी परामर्श लिन जनप्रतिनिधि सहित जिल्ला प्रहरी कार्यालय मोरङ आएका थिए।
घटना सुनसरी जिल्लामा घटेको हुनाले मोरङ प्रहरीले उनीहरूलाई आवश्यक समन्वय र कागजी प्रक्रियाका लागि सुनसरी नै पठाएको डीएसपी मिश्रको भनाइ छ।
त्यहाँ पुगेर उनीहरूले सरकारी वकिलको सल्लाह बमोजिम कानुनी बाटोबाट कागजात सुधार गर्ने र बीमाबापत बुझेको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।
परिवारसहितको जनप्रतिनिधिको टोली अहिले जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेको छ। उनीहरूले मृत्यु भइसकेका पदम बहादुरको सन्दर्भमा कानुनी प्रक्रिया र त्यसको जटिलताको बारेमा छलफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।
`उहाँहरूसँग छलफल भइरहेको छ´ उनले भने, `अब कसरी अघि बढ्ने भन्ने विषयमा परामर्श गरिरहेका छौं।´
पदमबहादुर जीवित फर्किएपछि अब अर्को गम्भीर प्रश्न खडा भएको छ, जेठ २७ गते कोशी अस्पतालमा अस्ताएका ती मृतक वास्तवमा को थिए?
गलत सनाखतका आधारमा अर्कैको घरमा पुगेर अन्त्येष्टि गरिएका ती मृतकको वास्तविक पहिचान अझै खुलेको छैन। यस घटनाले हतारमा शव सनाखत गर्ने परिपाटी र शव पहिचानको वैज्ञानिक विधिमाथि ठूलो प्रश्न उठाएको छ।