रास्वपाले बोलाएपछि दाङको कार्यक्रम बीचमै छाडेर फर्किए खगेन्द्र

 संवाददाता    २०८३, २७ आश्विन मंगलवार १५:३५     0 View



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा बाँके-३ का सांसद खगेन्द्र सुनार पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर फर्किएका छन् ।

बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँगको धम्कीयुक्त अश्लील अडिओ सार्वजनिक भएपछि पार्टीले सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएसँगै उनी उनी दाङबाट फर्किएका हुन् ।

रास्वपाले आगामी निर्वाचन लक्षित सर्वेक्षणका लागि सुनारसहित सांसदहरू नगेन्द्रकुमार गुप्ता र सुष्मा स्वर्णकार (डिम्पल) लाई दाङ खटाएको थियो । आइतबार बेलुकी तुलसीपुर आइपुगेको टोलीले पहिलो दिन पश्चिम दाङका चार पालिकामा सर्वेक्षण सकेको थियो ।

कार्यतालिका अनुसार मंगलबार घोराही लगायतका क्षेत्रमा छलफल तय भए पनि सांसद सुनारबिना नै अन्य दुई सांसदले बंगलाचुली गाउँपालिकामा पुगेर कार्यक्रम अघि बढाएका छन् ।

रास्वपा दाङका सभापति किरण खनालले बिहान ९ बजे नै सांसद सुनारलाई बिदाइ गरिएको र अन्य कार्यक्रम भने यथावत् रहेको जानकारी दिए ।

विवादित अडियो सार्वजनिक भएलगत्तै रास्वपाका महामन्त्री विपीन आचार्यले विज्ञप्ति जारी गर्दै उक्त विषयमा पार्टीको अनुशासन आयोगले छानबिन गर्ने र प्रतिवेदन नआउँदासम्म सुनारलाई पार्टी नेता तथा सांसदको हैसियतमा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको जनाएका थिए ।

यता, सांसद सुनारले भने दाङबाटै भिडिओ राख्दै अडियो एआई भएको र प्रहरीले केहीलाई उकासेर षड्यन्त्र गरेको दाबी गरेका छन् ।