राजनीतिक उडानमा अघि बढेका पाइलट शाही बने कांग्रेस सहमहामन्त्री

 संवाददाता    २०८३, २७ आश्विन मंगलवार १५:३२     14 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन्।

१५औं महाधिवेशनमाबाट कर्णाली प्रदेश संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री शाही सहमहामन्त्री निर्वाचित भएका हुन्। शाहीले तीन हजार ९०६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जनकराज गिरीले एक हजार ३७० मत मात्रै पाए।

शाही २०७८ सालमा सम्पन्न १४औं महाधिवेशनमा सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) बाट नै उम्मेदवार बनेका थिए। तत्कालीन शेरबहादुर देउवा प्यानलका शाहीलाई शेखर कोइराला प्यानलमा बद्री पाण्डेले पराजित गरे।

दोस्रो पटकको प्रयासमा शाही सहमहामन्त्री बन्न सफल भएका छन्। कांग्रेस नेता पूर्णबहादुर खड्का निकट शाही यही असोज १ मा मात्र गगन थापा नेतृत्वको कार्यसमितिमा प्रवेश गरेका थिए।

१५औं महाधिवेशनमा विशेष महाधिवेशन पक्षधरको वर्चश्व देखिँदा सहमहामन्त्री शाही भने भारी मतका साथ निर्वाचित भए।

२०२१ फागुन २० गते हुम्लाको खार्पुनाथ गाउँपालिका-५ अन्तर्गत खर्पेल शाही काठमाडौंको बूढानीलकण्ठ विद्यालयका विद्यार्थी हुन्। संयुक्त राज्य अमेरिकाबाट पाइलटको तालिम लिएका शाहीले विमान उडान भर्न छाडेर राजनीतिक उडानमै रमाए।

अध्ययनशील छवि र प्रखर स्वभावका शाहीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्।

२०४६ सालबाट राजनीतिमा सक्रिय उनी प्रजातन्त्रका लागि संघर्ष गर्ने क्रममा केही समय भूमिगत भए। २०६२–६३ सालको जनआन्दोलनमा तीन महिना जेल जीवन बिताएका उनी २०४६ देखि २०६२ सालसम्म हुम्ला कांग्रेसको सभापति रहे।

२०५५ सालमा जिल्ला विकास समितिको सभापति, जिल्ला विकास समिति महासंघ केन्द्रीय सदस्यसमेत बने। २०५९ सालमा देउवाको नेतृत्वमा कांग्रेस विभानन हुँदा शाही तत्कालीन कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य बने।

त्यसपछि २०६७ सालमा भएको कांग्रेसको १२औं र २०७२ सालमा भएको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए। १४औं महाधिवेशनमा सहमहामन्त्रीमा हारे पनि शाहीलाई तत्काली सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिमा ल्याए।

२०६८ सालदेखि २०७२ सालसम्म कांग्रेसको महाकाली इन्चार्ज बने। २०७० सालमा दोस्रो संविधान सभा सदस्यमा निर्वाचन भएका मुख्यमन्त्री शाहीले संसद्को विकास समिति सदस्य र कर्णाली विकास उपसमितिको संयोजक समेत भएर काम गरे।

२०७३ सालमा देउवा नेतृत्वकै सरकारमा शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी तथा सरसफाइ मन्त्री पनि बने। स्नोल्यान्ड एकीकृत विकास केन्द्र हुम्ला, सामुदायिक रेडियो कैलाश एफएम, नेपाल रेडक्रस सोसाइटी, द रेयुकाई नेपाल हुम्लाको संस्थापक अध्यक्ष भएका शाही दुई २०७४ देखि कर्णाली प्रदेश सभामा छन्।