बाढीले चुमनुब्रीमा ठूलो क्षति पुर्‍यायो, ४–५ बस्ती बगे : उपाध्यक्ष गुरुङ

 संवाददाता    २०८३, २५ आश्विन आईतवार ११:३५     30 जनाले पढ़िसके



Spread the love

गोरखाको चुमनुब्री गाउँपालिका-६ मा बुढीगण्डकी नदी थुनिएर आज बिहान अकस्मात् रुपमा आएको भिषण बाढीले ४-५ वटा बस्ती नै बगाएको छ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले दिएको जानकारी अनुसार बाढीले चुमनुब्री गाउँपालिका वडा नम्बर-३ का ४-५ वटा बस्ती नै बगाएको हो।

‘बाढीको सूचनापछि स्थानीयले बस्ती छाडेकाले ती बस्तीमा मानवीय क्षति चाहीँ भएको सूचना अहिलेसम्म आएको छैन,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘तर स्थानीयका घर र अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।’

चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुमचेत क्षेत्रमा सुक्खा पहिरो झरेर बुढीगण्डकी थुनिँदा आज बिहान साढे ३ बजेतिर भिषण बाढी आएको उनले बताइन्।

चुमनुब्रीको वडा नम्बर ६ बाट बाढी आएको भए पनि क्षति भने वडा नम्बर ३ को बस्तिमा भएको गुरुङले बताइन्।

‘क्षति भएको बस्तीमा हामी पुग्न सकेका छैनौँ। वडा नम्बर ३ को घट्टे खोला, पैयु, सल्लेरी, जगत बगरका बस्ति बाढीले बगाएको छ’, गुरूङले भनिन।

बाढीले बगाएको वस्तिमा भएको क्षति भने अहिले नै आँकलन गर्न सकिने अवस्था नरहेको उनले बताइन।

बुढी गण्डकी नदीको तल्लो तटीय क्षेत्रमा सडकमा रहेका सवारी साधन, परियोजनाका भवन लगायतका संरचना पनि बाढीले बढाएको छ। नदीमा रहेका केही पुलहरुमा पनि क्षति पुगेको छ।