गोरखामा एक्कासि बाढी आउनु आश्चर्यजनक, खासै वर्षा भएको छैन : मौसम विभाग

 संवाददाता    २०८३, २५ आश्विन आईतवार ११:००     30 जनाले पढ़िसके



Spread the love

आज (आइतबार) बिहान अकस्मात् भीषण बाढी आएको गोरखा (बुढीगण्डकी नदी) मा बितेका २४ घण्टामा खासै वर्षा नभएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ।

विभागले केही बेरअघि सूचना जारी गरी भनेको छ, ‘पछिल्लो २४ घण्टको विवरण हेर्दा गोरखा जिल्लामा हल्का वर्षा मात्र भएको देखिन्छ। त्यहाँ खासै ठुलो पानी परेको देखिँदैन।’

स्थानीयका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका-६ मा बुढीगण्डकी नदी थुनिएर आज बिहान अकस्मात् भीषण बाढी आएको हो।

बाढीले नदी आसपासका ४-५ वटा बस्ती नै बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन्।

‘बाढीको सूचनापछि स्थानीयले बस्ती छाडेकाले मानवीय क्षतिचाहिँ भएको सूचना अहिलेसम्म आएको छैन’, उपाध्यक्ष गुरुङले भनिन्, ‘तर स्थानीयका घर र अन्य भौतिक संरचनामा व्यापक क्षति भएको छ।’

उनका अनुसार चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुमचेत क्षेत्रमा सुक्खा पहिरो झरेर बुढीगण्डकी थुनिँदा आज बिहान साढे ३ बजेतिर भीषण बाढी आएको हो।