प्रसूति व्यथाले छटपटाइरहेकी एक महिलालाई सुनसरीस्थित जिल्ला अस्पताल (इनरुवा अस्पताल) ले भर्ना लिन अस्वीकार गरेको घटना बाहिर आएको छ।
अस्पतालले विभिन्न बहाना र कागजात नपुगेको कारण देखाउँदै उपचार प्रक्रिया अघि नबढाएपछि पीडित महिलाले एम्बुलेन्सभित्रै बच्चा जन्माएकी हुन्।
सुनसरीकै कोसी गाउँपालिका–३ की लालु सदालाई प्रसव पीडा भएपछि परिवारका सदस्यले यही असोज २१ गते राति उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्यायाएका थिए।
तर, अस्पताल प्रशासन र ड्युटीमा रहेका स्वास्थ्यकर्मीले कागजात नमिलेको र आवश्यक कागजात नपुगेको भन्दै भर्ना लिन मानेनन्।
प्रसव पीडाले तड्पिरहेकी सदालाई सामान्य जाँचसमेत नगरी ‘हाइरिस्क’ केसको बहाना बनाउँदै अन्यत्र पठाउन खोजिएको परिवारजनले आरोप लगाएका छन्।
जिल्ला अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि आफन्तले उनलाई उपचारका लागि विराटनगरतर्फ लगेका थिए। सोही क्रममा विराटनगरस्थित कोसी अस्पताल नपुग्दै एम्बुलेन्सभित्रै सदाले सामान्य अवस्थामा शिशुलाई जन्म दिएकी हुन्।
२१ असोजको राति घटेको यो घटनालाई अस्पताल प्रशासनले गुपचुप राख्न खोजेको भए पनि परिवारले भिडियोसहितका विवरण सार्वजनिक भएपछि घटना बाहिर आएको हो।
२४सै घण्टा आकस्मिक सेवा र १५ शय्याको आकस्मिक कक्ष रहेको सुनसरी जिल्ला अस्पतालमा मातृ तथा नवजातशिशु कार्यक्रमअन्तर्गत प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालित छन्।
यस्तो संवेदनशील सेवा सञ्चालनमा रहेको सरकारी अस्पतालमै चिकित्सक र कर्मचारीले वेवास्ता गर्ने गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
यता, सामाजिक सञ्जालमा समेत अस्पतालले भर्ना लिन अस्वीकार गरेको भिडियो सार्वजनिक भइसकेको छ।
यस विषयमा प्रतिक्रिया लिन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोष प्रसाद साहलाई पटक–पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्।
अस्पताल स्रोतले भने आमाको शरीरमा हेमोग्लोबिनको मात्रा कम भएकाले र सम्भावित जटिलतालाई ध्यानमा राखेर एनआईसीयू सुविधा भएको अस्पतालमा रेफर गरिएको दाबी गरेको छ।