नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीभित्र कुनै गुट नबनेको दाबी गरेका छन् ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले केही नेता तथा उम्मेदवारले आफ्नो स्वार्थअनुकूल गतिविधि देखिएकालाई औपचारिक रूपमा गुट भन्न नमिल्ने बताए । उनले पार्टीले सबै वर्ग, समुदाय र पेसालाई समेटेर नयाँ नेतृत्व निर्माण गर्न खोजेको बताए
उनले भने, ‘पार्टीको विधान परिमार्जन गरी केन्द्रीय समितिको आकार बढाउनुको मुख्य उद्देश्य विभिन्न समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नु हो। ३५ वर्षमुनिका युवा समूहबाट २१ जना तथा विज्ञ र पेसाकर्मीबाट सात जनालाई केन्द्रीय समितिमा प्रवेश गराउने व्यवस्था गरिएको छ ।’
त्यसैगरी श्रमिक, प्रजातन्त्र सेनानी, द्वन्द्व प्रभावित तथा सहिद परिवारलाई पनि केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको बताए ।
पार्टीले समावेशी क्लस्टरलाई पहिलेभन्दा फराकिलो बनाएको भन्दै पदाधिकारीमा समेत समावेशिताको दायरा विस्तार गरिएको बताए । नयाँ व्यवस्थाले कांग्रेसको केन्द्रीय समितिमा विभिन्न समुदाय र पेसागत समूहको उपस्थिति सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।