२२ किलो सुन तस्करी प्रकरण : चीनबाटै नेपालमा अखडा चलाउने ली को हुन्?

 संवाददाता    २०८३, २३ आश्विन शुक्रबार १५:११     19 जनाले पढ़िसके



Spread the love

नेपालमा चिनियाँ नागरिकहरुले बूढानीलकण्ठ नगरपालिका २ माथिल्लो भंगालमा घर नै भाडामा लिएर सुन तस्करी गर्ने गरेको पाइएको छ।

बिहीबार झण्डै २२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेपछि यसको रहस्य खुलेको हो।

पक्राउ पर्नेमा चीनको जियांग्सु ग्वाङदोङका झाउ लङक्विन, सोही स्थानका वाङ जियाङझेन र हान फेई छन्। उनीहरुबाट प्रहरीले १६०७.९५ ग्राम सुनका टुक्राहरु, ४९८७.७४ ग्राम तौलका ५ वटा बिस्कुट आकार ढिक्का, ३९९२.४० ग्राम ४ वटा ढिक्का, ६३५१.८२ (प्लास्टिकसहित) १५ पोका लेसिलो धूलो, २७९२.९८ (प्लास्टिकसहित) १ पोका लेसिलो टुक्राहरु र २०१७.७९ ग्रामको २ थान बिस्कुट आकारका ढिक्का बरामद गरेको थियो। बरामद सुन कुल २१ हजार ७५०.६८ ग्रामको अर्थात् झण्डै २२ किलो रहेको छ।

ती सुनलाई नेपालमा प्रशोधन गरेर तस्करी हुने गरेको थियो। उनीहरुले लेसिलो अवस्थाको सुनलाई ड्रायर मेसिनमा राखेर सुकाउँथे। त्यसपछि मेल्टिङ मेसिनमा राखेर पगाल्ने, बिस्कुट आकार दिने साँचोमा हाल्ने, चिस्याएर सुन तयार गर्थे।

तयार सुनको यसरी हुन्थ्यो तस्करी
चिनियाँ नागरिक पासपोर्ट नम्बर पीए०२२३१८८ को सु कानले घरधनीसँग मासिक भाडा ३ लाख ३० हजार रुपैयाँका दरले गत जुलाई २४ (साउन ८) बाट ४ महिनाको लागि अग्रिम भुक्तानी १३ लाख २० हजार दिएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार सु कान गत अगस्त १५ (साउन ३०) मा चीन गएको देखिएको छ। उनी हालसम्म नेपाल फिर्ता आएका छैनन्।

त्यस्तै कानले चीनमा झेन जिया लीलाई नेपालमा भाडामा लिएको घरको चाबी दिएको पाइएको छ। लीले हाल पक्राउ परेका हान फेई र झाउ लङक्विङलाई सेप्टेम्बर २६ (असोज १०) मा भाडामा लिएको घरको चाबी दिई पठाएका थिए।

पक्राउ परेका फेई र लङक्विङ दुवै जना सेप्टेम्बर २७ (असोज ११) मा र सु कान अक्टोबर १ (असोज १५) मा नेपाल आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका हान फेईले नेपाल आउनासाथ विमानस्थलमै बीवाईडी अटो ३ गाडी सेप्टेम्बर २७ (असोज १०) देखि अक्टोबर ११ (असोज २५) सम्मको लागि गाडी भाडामा लिएका थिए।

फेई यसअघि अगस्ट ४ (साउन १९) मा परिवारसहित नेपाल आएर सुनको बजारको अवस्था र मूल्य बुझेर अगस्ट २९ (भदौ १३) मा चीन फर्किएका थिए। फेईले आफ्नो बोस झेन जिया ली चीनको ग्वान्झाउ बस्ने र उनकै निर्देशनमा काम गर्ने गरेको बयान प्रहरीलाई दिएका छन्।

पक्राउ परेका चिनियाँ नागरिकहरुले घरमा आएका लेसिलो अर्धतयारी अवस्थाका सुनलाई प्रशोधन गर्ने, तयारी गर्ने र तोकिएको ठाउँसम्म पुर्‍याइदिने गरेका थिए।

प्रहरीलाई उनीहरुले नेपालमा कहाँ, कसरी, कसलाई पुर्‍याउने सबै निर्देशन विच्याटमा बोस लीले नै निर्देशन दिने गरेको र सोहीअनुसार यहाँ गर्ने गरेको बताएका छन्।