जाँचबुझ समितिमा एआईजी दाहालको बयान, इनमसँगको सम्बन्ध व्यक्तिगत रहेको जिकिर

 संवाददाता    २०८३, २३ आश्विन शुक्रबार १२:५३     21 जनाले पढ़िसके



Spread the love

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालका गतिविधि आचरणविपरीत रहेको ठहर जाँचबुझ समितिले गरेको छ।

गृह मन्त्रालयले दाहालबारे छानबिन गर्न सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनी पोखरेललाई जिम्मा दिएको थियो।

पोखरेलले बिहीबार साँझ प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदनमा दाहालका गतिविधि सशस्त्र प्रहरीको आचरणविपरीत देखिएको निष्कर्षसहित कारबाही सिफारिस गरिएको छ।

गृह मन्त्रालयले गत सोमबार एआईजी दाहाललाई निलम्बन गर्दै जाँचबुझ समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन भनेको थियो।

सोही आधारमा थप कारबाही अगाडि बढाउने तयारी गृह मन्त्रालयले गरेको छ।

प्रतिवेदन बिहीबार प्राप्त भएको बताउँदै अब यसमा गृहमन्त्रीले थप निर्णय गर्ने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।

पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाइदिने भन्दै चोलेन्द्रसम्म सम्पर्क स्थापित गरेका बिचौलिया इनम सापकोटासँग एआईजी दाहालको पनि सम्पर्क देखिएको र उनीहरूलाई सहयोग पुग्ने सूचना एआईजी दाहालले दिएको आरोप छ।

जाँचबुझ समितिले एआईजी दाहालसँग पनि बयान लिएको थियो।

बयानका क्रममा उनले इनमसँगको सम्पर्क व्यक्तिगत भएको बताएका छन्। एआईजी दाहाल र इनम सापकोटा दुवै झापाका हुन्।

एआईजी दाहालले सापकोटा पनि जिल्लावासी भएकै कारण आफ्नो व्यक्तिगत रूपमा पहिलेदेखि नै सम्पर्क/सम्बन्ध रहेको बताएका छन्।

एआईजी दाहाल पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि असोज ११ गते प्रहरी कार्यालय पुगेका थिए।

उनले प्रहरी कार्यालयमा पुगेर जबरालाई भेटेको र त्यसपछि सूचना बाहिरिएको गृह मन्त्रालयको दाबी छ।

गृहमन्त्री सुधन गुरुङले आचरणविपरीत गतिविधि गर्ने कुनै पनि कर्मचारीलाई नछाडिने बताएका छन्।