प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरबाट सांसद बनेकाहरूलाई ‘असाधारण’ र अरुलाई ‘औसत’ भनेर वर्गीकरण गरेपछि उनकै दलका नेताहरूले असन्तुष्टि जनाएका छन्। यो विषय संसदमा समेत प्रवेश गरेको छ।
जनमतबाट निर्वाचित सांसदलाई आफैँले चुनेका प्रधानमन्त्रीले अवमूल्यन गरेको उनीहरू बताउँछन्। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीले पनि असन्तुष्टि जनाएका छन्। अन्य दलका सांसदले पनि प्रधानमन्त्रीको भनाइप्रति कटाक्षा गरेका छन्।
बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै महामन्त्री विपिन आचार्यले आफू ‘एक्स्ट्राअर्डिनरी’ बन्न कोसिस गरिरहेको भन्दै प्रधानमन्त्रीलाई व्यंग्य गरे। यस्तै विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रास्वपाका सभापति कुन वर्गमा परेको भन्दै प्रश्न गरे।
के भनेका थिए बालेनले
बालेनले पछिल्ला दिन सांसदहरूसँग भेटघाट गरिरहेका छन्। उनले प्रदेश अनुसार प्रतिनिधित्व गर्ने सांसद, जेनजी सांसदसँग छलफल गरिसकेका छन्। बुधबार उनले इन्जिनियर पृष्ठभूमिका सांसदलाई भेटेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मध्यान्ह १२ बजेदेखि २ बजेसम्म भएको छलफलमा दर्जन बढी सांसद सहभागी भए। सबै सांसदका कुरा सुनेका बालेनले त्यसपछि आफू बोल्दा सांसदको तीनथरी वर्गीकरण गरिदिए।
यद्यपि, उनले गरेको वर्गीकरण रास्वपाका सांसदको मात्र हो कि सबै दलका भन्ने भेउ पाउन नसकेको सहभागी एक सांसद बताउँछन्।
‘प्रस्ट शब्दमा प्रधानमन्त्रीले तीन थरीका सांसदको कुरा गर्नुभयो,’ ती सांसदले भने, ‘पहिलो– एभरेज (औसत), दोस्रो– एभरेजभन्दा मुनि (औसतभन्दा तल) र तेस्रो– एक्स्ट्राअर्डिनरी (असाधारण)।’
ती सांसदका अनुसार प्रधानमन्त्रीले ‘एक्स्ट्राअर्डिनरी’ मा इन्जिनियर सांसदलाई राखे।
‘एभरेज सांसद इभेन्टको कुरा गर्छन्, एभरेजभन्दा तलका सांसद मलाई यो गर त्यो गर भन्छन्,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘एक्स्ट्राअर्डिनरी भएकाले इन्जिनियरले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ। केही आइडिया भएकाहरूलाई प्रधानमन्त्री कार्यालयले खोज्छ र मसँग सजिलै भेट गराउँछ।’
प्रधानमन्त्रीको भनाइबारे रास्वपाका अधिकांश सांसद अनभिज्ञ थिए। तर, जब महामन्त्री आचार्यले संसदमा यो विषय प्रवेश गराए, तब उनीहरू छक्क र असन्तुष्ट बनेका छन्। रास्वपामा सभापतिपछि शक्तिशाली पदमा रहेका महामन्त्री आचार्यले आफूलाई सबै सांसद क्षमतावान लाग्ने पनि बताए।
‘म आफू औसत क्षमताको इन्जिनियर भएर पनि होला, मलाई क्षमता, नियत र तथ्यमा अब्बल हरेक विधाका व्यक्तिहरू एक्स्ट्राअर्डिनरी लाग्छन्,’ आचार्यले भने, ‘म पनि एक्स्ट्राअर्डिनरी बन्ने इमानदार कोसिस गर्दै छु।’
आचार्यले उठाएपछि रास्वपाकै सांसदहरूले आफू कुन वर्गमा परे हुँला भन्दै मजाक गरेको सांसदहरू बताउँछन्।
रास्वपाका सचिवालय सदस्य एवं कञ्चनपुर २ बाट निर्वाचित सांसद दीपक बोहोराले आफ्नो स्थानबारे सोध्नुपर्ने बताए।
‘मेरो स्थान कहाँ पर्यो पीएमलाई सोध्नुपर्छ,’ उनले भने, ‘म आफैँलाई थाहा छैन।’
अर्का सांसद यज्ञमणि न्यौपाने पनि प्रधानमन्त्रीले गरेको वर्गीकरणमा आफू कहाँ परेको थाहा नभएको बताउँछन्।
‘अब हेरौँ न घटनाक्रमले के भन्दो रहेछ, यो समयले बताउने कुरा हो। अहिले नै प्रो एक्टिभ भएर यसो भयो, उसो भयो भनेर केही हुँदैन,’ उनले भने, ‘नेताहरू जिम्मेवार छन्, आफ्नो कुरा बुझ्छन्। देश कसरी बनाउनुपर्छ बुझ्लान्। देशलाई कसरी गति दिनुपर्छ त्यो पनि थाहा पाऊलान्।’
प्रधानमन्त्रीसँगको बैठकमा सहभागी सांसद आशिष गजुरेलले सार्वजनिक यातायातलाई सार्वजनिक–निजी साझेदारी मोडलमा लैजाने र स्मार्ट ट्रान्सपोर्टेसनबारे सुझाव दिएको बताए।
सागर ढकालले विकास निर्माण र सडक जस्ता पूर्वाधारका आयोजनाहरूलाई तीव्रता दिन अब २४ सै घण्टा ३ सिफ्टमा काम गर्नुपर्ने भनाइ राखे।
यस्तै, अर्काे सांसद श्रीराम न्यौपानेले २४ सै घण्टा विकास निर्माणका काम गरेर पुँजीगत खर्च बढाउनुपर्ने भनेको बताए। धर्मराज केसीले जलवायु परिवर्तनसम्बन्धी कानुन निर्माणका विषय उठाए।
यसैगरी, अर्का सांसद डा राम लामाले दक्ष इन्जिनियरलाई विदेश पलायन हुनबाट रोक्न सेवासुविधा बढाउन भने।
तपेश्वर यादवले तराई क्षेत्रमा इन्जिनियरिङ कलेज स्थापना गर्ने सरकारको तयारीको प्रशंसा गरेका थिए। छलफलमा जगदीश खरेल दोलखा, उज्वलकुमार झा, अरविन्द साह, सुशील खड्का लगायतका सांसद थिए।
प्रधानमन्त्री र रास्वपा सभापति रवि लामिछानेनिकट रहेका सांसदसँग यसबारे जिज्ञासा राख्दा केहीले यस विषयमा नाम खुलाएर चाहेनन्।
‘महामन्त्रीले सबैतिर बुझेर, तथ्य लिएर नै संसदमा रेकर्डमै रहनेगरी यो विषय उठाउनुभएको देखिन्छ,’ एक सांसदले भने, ‘यो विषय सामान्य होइन भन्ने तलैसम्म गइसक्यो।’
यस्तै कुरा गर्दा प्रधानमन्त्री फस्दै जाने खतरा रहेको उनी बताउँछन्। यसअघि संसदमा सीमाका विषयमा बोलेको कुराले रास्वपालाई तनाव दिएको उनको भनाइ छ।
‘प्रधानमन्त्रीमा अझै परिपक्कता छैन भन्ने देखियो,’ उनले थपे, ‘संसदको गरिमा नबुझेपछि उहाँमा कुन मेसेज कतिबेला दिने भन्ने राजनीतिक जजमेन्ट छैन, यही समस्या भइराखेको छ।’
प्रधानमन्त्रीका पछिल्ला व्यवहारले रास्वपा सभापति रवि लामिछाने सन्तुष्ट छैनन्।
‘सभापतिले प्रधानमन्त्रीसँग कन्फिडेन्ट हुनुहुन्न भन्ने संकेत दिइरहनुभएको छ,’ उनी थप्छन्।