ताइवानमाथि २०२७ मा चिनियाँ हमला नहुने अमेरिकी अधिकारीहरूको आकलन

 संवाददाता    २०८३, १५ आश्विन बिहीबार १५:३०     16 जनाले पढ़िसके



Spread the love

अमेरिकी गुप्तचर निकाय र रक्षा मन्त्रालयका अधिकारीहरूले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवान कब्जाका तयार हुन निर्देशन दिएको दाबी गर्दै आएका थिए। तर, अर्को वर्षसम्म चीनले ताइवानमा हमला गर्ने सम्भावना नरहेको निष्कर्ष अहिले अमेरिकी अधिकारीहरूले निकालेका छन्।

रोयटर्सले बहालवाला र पूर्वअधिकारीहरूलाई उधृत गर्दै जनाएअनुसार मूलतः दुई कारणले चिनियाँ सेनाले तत्काल आक्रमण नगर्ने अमेरिकी आकलन छ। पहिलो, चिनियाँ कम्युनिस्ट पार्टीमा चलिरहेको भ्रष्टाचार विरोधी अभियान। र, दोस्रो २०२८ को ताइवानी निर्वाचनको नतिजा कुर्ने बेइजिङको इच्छा। चुनावबाट आफू अनुकूल सरकार बन्न सक्ने अपेक्षामा बेइजिङ रहेको उनीहरूको भनाइ छ।

तर, त्यो चुनावमा पनि डीपीपीले नै लगातार चौथो पटक जित हात पारे वा वर्तमान राष्ट्रपति लाइ चिङ ते नै पुनः राष्ट्रपति बने बेइजिङले बलप्रयोग गर्ने सम्भावना बढ्ने उनीहरूले बताएका छन्।

‘त्यस्तो भयो भने २०२८ मा निकै गम्भीर संकट आउन सक्छ,’ एक अमेरिकी अधिकारीले भनेका छन्।

दुई वर्ष राष्ट्रपति चुनिएका लाइ ताइवानलाई स्वतन्त्रता दिलाउन चाहन्छन्। जसले गर्दा ताइपेइ र बेइजिङको सम्बन्ध निकै तनावपूर्ण बन्न पुगेको छ।

लामो समयदेखि अमेरिकी अधिकारीहरूले सीले २०२७ सम्ममा ताइवानलाई बल प्रयोग गरेर चीनमा मिसाउन सक्ने गरी तयार रहन सेनालाई निर्देशन दिएको बताउँदै आएका थिए। किनकि २०२७ मा जनमुक्ति सेना स्थापनाको सय वर्ष पूरा हुनेछ।

यही मूल्यांकनका आधारमा अमेरिकी सरकारले एसिया–प्यासिफिकमा चीनलाई टक्कर दिने रणनीति तयार गर्दै आएका थिए।

चीनले पनि ताइवानको पुनर्एकीकरणका लागि बल प्रयोगको विकल्पलाई अस्वीकार गरेको छैन।

यसै साता एक सम्बोधनमा सीले ताइवानको विषयमा बोलेका थिए। उनले पुनर्एकीकरण हासिल गर्न दुई पक्षबीच शान्तिपूर्ण सम्बन्धलाई विकास गर्नुपर्ने बताएका थिए।

केही विश्लेषकहरूले अझै पनि चीनले शान्तिपूर्ण तवरबाटै ताइवानको पुनर्एकीकरण गर्न चाहेको बताउँदै आएका छन्। कतिपयले अमेरिका इरान युद्धमा फसेका बेला बेइजिङलाई ताइवानमा आक्रमण गर्न सहज हुने तर्क गरेका छन्। तर, कसैले अमेरिका इरानमा र रुस युक्रेनमा साना शक्तिविरुद्धको युद्धमा नराम्ररी फसेको देखेर चीनले ताइवानमा हात हाल्नुअघि अनेक पटक पुनर्विचार गर्ने अड्कल पनि गर्दै आएका छन्।

डोनाल्ड ट्रम्पले गत वर्ष आफू सत्तामा हुञ्जेल ताइवानमा आक्रमण नगर्न सीलाई भनेको बताएका थिए। पछिल्लो समय उनले सीसँग लगातार भेट गर्न थालेपछि ताइवानलाई बेच्ने भनिएको १४ अर्ब डलरको हतियार पनि रोकेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार अर्को वर्षसम्ममा ताइवान आक्रमणका लागि सेनालाई तयार पार्ने लक्ष्य सीले त्यागेका छैनन्। तर, गत वर्ष जनमुक्ति सेनाले पर्याप्त तयारी गर्न सकेको छैन। किनकि पछिल्लो समय भ्रष्टाचार विरोधी अभियानमा रक्षामन्त्रीसहित केन्द्रीय सैन्य आयोगका अधिकांश सदस्यहरू कारबाहीमा परेका छन्।

सात सदस्यीय आयोगमा सीसहित दुई सदस्य मात्र बाँकी छन्। अरु सबै कारबाहीमा परेका छन्। आयोगमा सीपछिका उपाध्यक्ष पार्टीबाटै निकालिएका छन्।

छोटो युद्धको तयारी
अमेरिकी अधिकारीका अनुसार चीनले गत वर्ष गरेको सैन्य अभ्यास अघिल्ला केही वर्षको तुलनामा सानो थियो। यस वर्षको सैन्य अभ्यास केही हदसम्म ठूलो थियो। तर, यो तयारीबाट चिनियाँ सैन्य अधिकारीहरू नै सन्तुष्ट नरहेको अमेरिकी आकलन छ।

ती अमेरिकी अधिकारीका अनुसार चीनले इरान र युक्रेनका युद्धबाट एउटा पाठ सिकेको छ। त्यो के हो भने चीनले लामो युद्धबाट जोगिनुपर्नेछ। त्यसका लागि आक्रमण सुरू भएपछि छोटो र तीव्र युद्धबाट नतिजा निकाल्ने चीनको योजना हुनेछ। त्यसका लागि चीनको तयारी नपुगेको उनको भनाइ छ।

‘ताइवानमा चीनको हमला दोस्रो विश्वयुद्धमा मित्रराष्ट्रहरूले नर्मन्डीमा गरेको आक्रमणयताकै सम्भवतः सबैभन्दा कठिन लडाइँ हुनेछ। त्यस्तो सैन्य कारबाहीका लागि सबैकुरा अहिलेसम्म तयार भइसकेको छैन,’ उनले भने। एजेन्सी