ध्रुव राईको टिप्पणी– ‘सरकार यसैगरी अघि बढे घर पनि जोगाउन गाह्रो पर्ला’

 संवाददाता    २०८३, १६ आश्विन शुक्रबार १२:१९     9 जनाले पढ़िसके



Spread the love

श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सरकारप्रति जनतामा निराशा बढ्दै गइरहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले उठाएको प्रश्नको जवाफ सदनमा यो अधिवेशनमा प्रधानमन्त्रीबाट पाउन नसकेको बताए।

उनले भने, ‘सरकार प्रमुखलाई प्रश्न उठाएका थियौँ। त्यसको उत्तर पाएनौँ। सदनबाट आज म रित्तै भोजपुरे जनताहरूको घरआँगनसम्म म फर्किँदै छु, तर उत्साहका साथ फर्केको छैन। यहाँ सांसदको गन्तीमा मात्रै दुई तिहाइ नजिक हो भन्ने कुरा हेक्का राख्नुपर्दछ।’

उनले सरकारको यस्तै गतिविधि चलिरहे गत भदौ २३ र २४ को आन्दोलन दोहोरिनसक्ने चिन्ता व्यक्त गरे।

उनले थपे, ‘मलाई त डर लागिरहेको छ, हिजो २३ र २४ को आन्दोलनतिर पुरानो दल भनिएको नेताहरूका गतिविधिको कारणले भ्रष्टाचार गर्‍यो, धेरै पैसा कमायो भनेर घरहरू जलेको थियो। अब हामीले हाम्रो घरहरू जोगाउन निकै मुस्किल पर्ला कि ! अहिलेसम्मको अधिवेशनको गतिविधिहरूमा मलाई त्यो लागिरहेको छ।’

उनले अर्को अधिवेशनमा प्रधानमन्त्रीले आफूहरूले राखेको प्रश्नको जवाफ दिने विश्वास व्यक्त गरे।

‘म आज दुःखका साथ सरकारका प्रमुखलगायत सरकारलाई भन्दैछु, फेरि अब ३ महिनापछि हाम्रो भेट होस्, तपाईँहरू आफैँले आफ्नो सरकार नढाल्नुहोला’ उनले भने, ‘फेरि पनि सम्पूर्ण प्रतिपक्षहरूको तर्फबाट हाम्रो मागलाई जे अपमान गरियो, अबको सुरु हुने सदनमा त्यस्तो नहोस्।’