तातोपानी नाका खोल्ने विषयमा नेपाल–चीनबीच छलफल, चीनले भन्यो– पहिले कोरला हेरौँ

 संवाददाता    २०८३, १५ आश्विन बिहीबार ११:०१     1  जनाले पढ़िसके



Spread the love

उत्तरी नाका सञ्चालनमा ल्याउन सरकारले पहल तीव्र बनाएको छ। नेपालले चाडबाडअघि नै तातोपानी नाका खोल्नुपर्ने प्रस्ताव गरेको छ। तर, चिनियाँ पक्षले कोरला नाका खोल्न चाहेको अधिकारीहरूले बताएका छन्।

त्यसैले चीनले पहिले कोरलाको पनि स्थलगत अवलोकन गनुपर्ने बताएको छ। हाल उत्तरतर्फका तातोपानी, रसुवागढी र कोरलागरी तीन वटै व्यापारिक नाका बन्द छन्।

गत सोमबार परराष्ट्र मन्त्रलायका सहसचिव रामकाजी खड्काको नेतृत्वमा नेपालस्थित चिनियाँ दूतावास, भन्सार विभाग, सडक विभाग लगायतका पदाधिकारीहरूले सिन्धुपाल्चोकको तातोपानीतर्फको सडकको स्थलगत अवलोकन गरेका थिए। यो भ्रमण चिनियाँ अधिकारीहरूकै प्रस्तावमा भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।

सरकारी अधिकारीहरूले तातोपानी नाकातर्फको सडकबाट चिनियाँ सामान आयातको लागि खासै समस्या नभएको बताएका छन्। तर, चिनियाँ पक्षले भने कोरलातर्फको सडकको पनि स्थलगत अनुगमन गर्नुपर्ने प्रस्ताव राखेको छ।

परराष्ट्र मन्त्रालयका उच्च तहका एक अधिकारी भन्छन्, ‘चिनियाँ पक्षले कोरलालाई स्थायी नाका बनाउनुपर्छ भन्ने कुरा गरिरहेको छ। कोरलातर्फको सडकको अवस्था पनि अवलोकन गर्ने उनीहरूको चाहना छ। चाँडै त्यसतर्फको अवलोकनमा पनि जाने तयारी हुँदै छ।’

आगामी आइतबार वा सोमबारसम्ममा चिनियाँ अधिकारीहरू सहित परराष्ट्र, अर्थ र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरू मुस्ताङतर्फको सडक अवलोकलनमा जाने तयारी भइरहेको ती अधिकारीले बताए।

उत्तरतर्फका सबै नाका बन्द भएपछि नेपाल–चीन व्यापार ठप्प भएको छ। मुख्य चाडपर्व दसैँ र तिहारको सम्मुखमा उत्तरतर्फको नाका बन्द हुँदा चाडपर्वमा आवश्यक पर्ने सामान आयात प्रभावित हुने र उपभोक्ताले महँगो मूल्य तिनुपर्ने अवस्था आउने भएपछि सरकारले नाका सञ्चालनमा ल्याउन पहल सुरु गरेको हो।

चीनले कोरला नाकालाई स्थायी बनाउने आशय व्यक्त गरेपछि नेपाली अधिकारीहरूले भने कोरला नाका मौसमका कारण वर्षभरि नै सञ्चालनमा ल्याउन नसकिने र पछिल्लो पटकको बाढीका कारण ठाउँठाउँमा सडक अवरूद्ध भएका कारण चाडपर्वकै लागि भए पनि तातोपानी नाका खुलाउनुपर्ने बताएका छन्।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला भन्छन्, ‘कोरलामा हिउँ परेर सडक अवरूद्ध हुने, अहिले नै विभिन्न ठाउँमा पहिरो गएर सडक अवरूद्ध भएको र विकल्पमा तातोपानी नाका नै सहज रहेको कुरा हामीले यहाँको सरकारलाई भनेका छौँ। उनीहरूले त्यही कुरा बेइजिङमा जानकारी गउराउँछौँ भन्ने जवाफ दिएका छन्।’

नेपालसँगको नाका सञ्चालनमा ल्याउने विषय चीनको तिब्बत स्वायत्त प्रदेश सरकारले मात्रै गरेर नहुने भएकाले बेइजिङकै निर्णय आवश्यक पर्ने निरौला बताउँछन्।

असोज १३ (सोमबार) सिन्धुपाल्चोकको तातोपानी नाकातर्फको सडकको अवस्थाबारे भएको अवलोकन र उक्त नाका सञ्चालन हुँदा नेपालतर्फको सडकमा ठूलो समस्या नरहेको कुरा तिब्बत स्वायत्त प्रदेश सरकारमा रिपोर्टिङ भइसकेको उनको भनाइ छ।

‘उनीहरूले सकरात्मक रुपमा लाग्छौँ भनेका छन्। अहिलेका लागि उपयुक्त नाका नै तातोपानी हो। यसलाई सञ्चालनमा ल्याउन तीव्र रुपमा पहल गरिरहेका छौँ,’ निरौलाले भने।

काठमाडौँमा भने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले असोज ९ मा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङलाई सिंहदरबारमा बोलाएर उत्तरतर्फको नाका सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका थिए।

भदौ १० मा भोटेकोसी–त्रिशुली नदीमा आएको बाढीले रसुवागढी नाका ‘वास आउट’ भएको छ। नेपालतर्फको सडकमार्ग र पुलहरू बाढीले बगाएको छ। उक्त नाका पुनः सञ्चालनको लागि ठूलो लगानी र समय आवश्यक पर्छ।

त्यसपछि, चीनबाट आउने सामानहरू मुस्ताङको कोरलातर्फ डाइभर्ट भएको थियो। तर, असोज ९ देखि ११ सम्म परेको पानीले गर्दा त्यसतर्फको सडक पनि अवरूद्ध भएको छ। ठाउँठाउँमा पहिरो गएको छ भने पुलहरू बगेका छन्। यी दुई नाकाको तुलनामा तोतोपानी सञ्चालनको लागि सहज छ। तर, रसुवाको भोटेकोसी नदीमा बाढी आएलगत्तै चिनियाँ पक्षले सुरक्षाको कारण देखाएर तातोपानी नाका पनि बन्द गरेको थियो।

महावाणिज्यदूत निरौला भन्छन्, ‘नेपालतर्फको बाटो राम्रो हुने हो भने तातोपानी नाका सञ्चालन गर्न समस्या छैन भन्ने चिनियाँ अधिकारीहरूको भनाइ हुने गरेको छ। हामीले त्यहाँको सडक सुचारू रहेको र केही ठाउँमा भएको अवरोध हटाइसकिएको बताएका छौँ।’

भन्सार विभागका महानिर्देशक यमलाल भुसाल पनि चिनियाँहरूको प्रतिक्रिया सकारात्मक रहेकाले तातोपानी नाका चाँडै सञ्चालन हुनेमा आशावादी रहेको बताउँछन्।

‘उनीहरूको रेस्पोन्स राम्रो छ। सडकमा अलिअलि पहिरो छ। सडकमा अवरोध हुन नदिने प्रतिबद्धता सडक विभागको छ। उक्त नाका चाँडै सञ्चालन हुनेमा आशावादी छौँ,’ भुसालले भने।

यता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पनि बुधबार चिनियाँ राजदूतलाई भेटेर तातोपानी भन्सार नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल गरेका छन्।

श्रेष्ठले आपूर्ति शृंखलामा देखिएको अवरोध कम गर्न र व्यापारी तथा उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल सञ्चालनका लागि चिनियाँ पक्षबाट आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए।

उनले कठिन परिस्थितिमा व्यापारिक आवागमन सहज बनाउनुका साथै निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास कायम राख्न दुवै देशबीच निरन्तर समन्वय आवश्यक रहेको चिनियाँ राजदूतलाई बताएका थिए।

नेपाली व्यवसायीहरूले दसैँमा बजार ल्याउने सामान खरिद गरेर लोड गरिसकेका छन्। तर, तातोपानी नाका बन्द भएको र कोरलातर्फको सडक अवरुद्ध भएका कारण सामान चीनतर्फ नै अलपत्र परिरहेको छ। दसैँमा डेलिभरी दिने गरी बुकिङ भएका विद्युतीय सवारी साधनहरू पनि तत्काल ल्याउन अप्ठ्यारो भइरहेको व्यवसायीहरूले बताएका छन्।