फ्लाईदुबई विमानमा क्याप्टेनले देखाए असाधारण साहस, विश्वभर प्रशंसा

 संवाददाता    २०८३, १५ आश्विन बिहीबार १३:१०     47 जनाले पढ़िसके



Spread the love

फ्लाईदुबईको उडान एफजेड–१०७३ मा चक्कु प्रहारमा परेका भारतीय नागरिक क्याप्टेन स्मित मच्छरले बेहोस हुनुअघि ककपिटको ढोका खोलेको पाइएको छ ।

इजरायली यात्रु यानिभ हयुनले बुधबार बेन गुरियन विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन् ।

हयुनका अनुसार ककपिटको ढोका खुलेको थियो, तर मच्छर ढोकाको निकै नजिक भएकाले ढोका खोल्न कठिन भएको थियो ।

उनले मच्छरले आफ्नो सुझबुझ प्रयोग गरेर यात्रु तथा चालक दलका सदस्यका लागि ढोका खोलेको र त्यसपछि बेहोस भएको हुन सक्ने बताए ।

उनले भने, ‘मेरो निष्कर्ष के हो भने उहाँले आफ्नो सुझबुझ प्रयोग गर्दै हाम्रा लागि ढोका खोल्नुभयो र त्यसपछि बेहोस हुनुभयो ।’

नेतन्याहूले पनि सामाजिक सञ्जाल एक्समार्फत मच्छरको बहादुरीको प्रशंसा गरेका छन् ।

उनले चक्कु प्रहारबाट गम्भीर घाइते हुँदासमेत मच्छरले प्रतिकार गरेको, आक्रमणकारीको सामना गरेको र ककपिटको ढोका खोलेर यात्रु तथा चालक दलका सदस्यलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेको बताएका छन् ।

नेतन्याहूका अनुसार मच्छरको कदमका कारण विमानमा सवार इजरायली नागरिकसहित विभिन्न देशका १७४ जनाको ज्यान जोगिएको थियो।

बेहोस हुनुअघि ककपिटको ढोका खोलेको दाबी

सामाजिक सञ्जालमा पनि मच्छरको प्रशंसा भइरहेको छ । इरानकी एक महिलाले एक्समा लेखेकी छन् कि उनका पति पाइलट हुन् र पाइलटसँग ककपिटभित्रबाटै ढोका अनलक गर्न सकिने स्विच हुने बताएका छन् ।

उनका अनुसार सम्भवतः मच्छरले सहयोगका लागि आवाज मात्रै लगाएनन्, बेहोस हुनुअघि उक्त स्विचसमेत दबाएर फ्लाइट अटेन्डेन्ट तथा यात्रुलाई ककपिटभित्र प्रवेश गर्ने बाटो खोलेका हुन सक्छन् ।

उनले ककपिटको ढोका लक नै रहेको भए कसैले भित्र प्रवेश गरेर विमान बचाउन सहयोग गर्न नसक्ने सम्भावना रहेको उल्लेख गर्दै मच्छरको निर्णयले विमानमा सवार सबैको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् ।

इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्टका अनुसार विमानमा रहेका केही यात्रुले घाइते मच्छरलाई प्राथमिक उपचारसमेत गरेका थिए ।

तीमध्ये इजरायली दन्त चिकित्सक शोता मुसायेव पनि थिए । विमान साउदी अरबको ताबुक विमानस्थलमा आकस्मिक अवतरण गरेपछि मच्छरलाई ताबुकस्थित अस्पतालमा भर्ना गरिएको थियो ।

मुसायेवका अनुसार मच्छर गम्भीर रूपमा घाइते थिए र उनको टाउको तथा हातबाट धेरै रगत बगेको थियो । उनले रगत रोक्न सहयोग गरेका थिए । त्यसपछि मच्छरको अवस्था स्थिर भए पनि विमान अवतरण गर्ने क्रममा फेरि बिग्रिएको उनले बताएका छन् ।

मुसायेवका अनुसार मच्छरले बोल्दै आफूलाई अर्को पाइलटले चक्कु प्रहार गरेको बताउन सकेका थिए ।

अनुभवी पाइलट हुन् मच्छर

लिंक्डइन प्रोफाइलका अनुसार मच्छरले फ्लाईदुबईमा आबद्ध हुनुअघि भारतीय एयरलाइन्स स्पाइसजेटमा एक दशकभन्दा बढी समय काम गरेका थिए । त्यहाँ उनी प्रशिक्षण क्याप्टेनका रूपमा कार्यरत थिए र नयाँ पाइलटलाई प्रशिक्षण तथा मार्गदर्शनसमेत दिँदै आएका थिए ।

उनले बोइङ ७३७–८०० तथा ७३७ म्याक्स ८ र ९ विमानमा करिब ९ हजार ७५० घण्टा उडान गरिसकेको प्रोफाइलमा उल्लेख छ ।

मच्छरका परिवार र छोराछोरीसमेत रहेको उनको लिंक्डइन प्रोफाइलबाट देखिन्छ ।

साउदी अरबस्थित भारतीय दूतावासले मच्छरलाई उत्तरपश्चिमी साउदी अरबको ताबुकस्थित अस्पतालमा भर्ना गरी आवश्यक उपचार भइरहेको जनाएको छ ।

दूतावासले उनको स्वास्थ्य अवस्थाबारे पूर्ण जानकारी प्राप्त नभए पनि अवस्था स्थिर रहेको जानकारी पाएको बताएको छ । अधिकारीहरू मच्छरको परिवारको सम्पर्कमा रहेको पनि दूतावासले जनाएको छ ।

ट्रम्पले पनि मच्छरलाई ‘हिरो’ भने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फ्लाईदुबईका पाइलट मच्छरलाई ‘हिरो’ भन्दै प्रशंसा गरेका छन् ।

ट्रम्पका अनुसार मच्छरले सहपाइलटको चक्कु आक्रमणको सामना गर्दै ककपिटको ढोका खोलेर सहयोगका लागि आवाज लगाउन सफल भएका थिए ।

यसले विमानलाई जानाजान दुर्घटनामा पार्ने कथित प्रयास विफल पार्न सहयोग गरेको उनले बताए ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले इजरायली प्रधानमन्त्री नेतन्याहूसँग यस घटनाबारे कुराकानी गरेको बताएका थिए ।

ट्रम्पले नेतन्याहूबाट आफूले सुनेको भन्दै एक इजरायली यात्रु, जो पेसाले प्लम्बर भएको र यसअघि कहिल्यै विमान नउडाएको, ककपिटमा प्रवेश गरी सहपाइलटलाई नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

उनका अनुसार ती यात्रुले सहपाइलटलाई सिटबाट तानेर पछाडि लडाएपछि अन्य यात्रुले उनलाई नियन्त्रणमा लिएका थिए ।

ट्रम्पले ती यात्रुले आफूले एयर डिजास्टर्स नामक टेलिभिजन कार्यक्रम धेरै हेर्ने गरेको र त्यसबाट विमान उडाउनेसम्बन्धी केही आधारभूत कुरा सिकेको बताएको उल्लेख गरे ।

त्यसपछि विमानको पछिल्लो भागमा रहेका अतिरिक्त पाइलट तथा सुरक्षाकर्मी ककपिटमा पुगेका र विमानको नियन्त्रण सम्हालेको ट्रम्पले बताए ।

उनले यो घटनालाई ‘अविश्वसनीय कथा’ भएको बताएका छन् । यद्यपि, ट्रम्पले आफूले प्राप्त भएको जानकारी मात्रै सुनाइरहेको र ती विवरणको स्वतन्त्र रूपमा पुष्टि नगरेको प्रस्ट पारेका छन् ।