नेकपा (एमाले) का नेता आनन्द पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीले तल्लो तहसम्म पार्टी विभाजनको संकेत गएको बताएका छन्।
मंगलबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै पोखरेलले कार्यशैलीमाथि प्रश्न गरेका हुन्। सोमबार अध्यक्ष ओलीले एमाले केन्द्रीय कमिटी बैठक आफैले चलाएका थिए भने अरुलाई बोल्न समय दिएका थिएनन्।
केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता पोखरेलले चुनाव समीक्षा र पार्टी पुनर्गठनको विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन किन वितरण नगरेको भनेर प्रश्न गरेका छन्।
‘सचिवालय बेग्लै टापु होइन, हामीले पनि कार्यदलको प्रतिवेदन अध्ययन गर्न पाउनुपर्यो’, पोखरेलले भने, ‘हिजोकै केही व्यवहारले पार्टी विभाजन तलसम्म गइसक्यो। महासचिवको कुर्सी चेन्ज, सिट एजेन्जमेन्ट चेन्ज गरियो। महासचिवलाई कार्यक्रम चलाउन र प्रतिवेदन पेश गर्न दिइएन, यसले तल पार्टी विभाजनको संकेत गइसकेको छ।’
अध्यक्ष ओलीले केही दिनअघि दिएको अभिव्यक्ति पनि घातक रहेको उनको टिप्पणी थियो। ‘किर्ना र आबारा भनेर अध्यक्षले बोलेको गलत भयो’, ओलीकै अघि पोखरेलले भने, ‘अध्यक्ष अनुयायी बनाउन लाग्नुहुन्छ, उत्तराधिकारी होइन, यस्तो व्यवहारले पार्टी बन्दैन। मलाई कुनै पदको आकाक्षा पनि छैन, कुनै लाभको पद लिनु पनि छैन। एउटै अभिस्ट यो पार्टी बनाउने हो।’