मलेसियाका प्रधानमन्त्रीसँग बालेन– ‘रोजगारीमा बिचौलियातन्त्र स्वीकार्दैनौँ’

 संवाददाता    २०८३, ६ आश्विन मंगलवार १२:१७     25 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् ।

छलफलका क्रममा प्रधानमन्त्रीले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएको सचिवालयले जनाएको छ ।

मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने शाहले मलेसियाली समकक्षीसँग स्पष्ट पारेका छन् । शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै स्थायी समाधानका निम्ति संयुक्त पहलमा जोड दिएका छन् ।

‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ् । त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ ।

शाहको धारणालाई सकारात्मक लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट गरेका छन् । यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता पनि उनले जनाए ।