प्रधानमन्त्रीको अमेरिका भ्रमण : ‘रेड कार्पेट’ र ‘गार्ड अफ अनर’ नहुने

 संवाददाता    २०८३, ६ आश्विन मंगलवार १२:०५     26 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् । यो उनको पहिलो विदेश भ्रमण पनि हो ।

प्रधानमन्त्रीको पहिलो विदेश यात्रामा पहिलेका केही परम्पराहरु तोडिने भएका छन् । विमानस्थलमा पहिलेजस्तो तामझाम नगरी प्रधानमन्त्रीको प्रतिनिधिमण्डल प्रस्थान गर्ने छ । बिदाइका नाममा एयरपोर्टमा मन्त्रीदेखि उच्चपदस्थहरुको लावालस्कर देखिने छैन ।

प्रधानमन्त्री सचिवालयले उच्च स्रोतले देशको परिस्थितिका कारण पनि तामझाम गर्ने अवस्था नरहेको बताए ।

स्रोतले भन्यो, ‘प्रधानमन्त्री यसै पनि अनावश्यक तडकभडक गर्न रुचाउनुहुन्न । त्यसमाथि अहिले देशमा राष्ट्रिय विपत्तिकै अवस्था छ । त्यसैले बिमानस्थलमा बिदाइको तामझाम गर्ने कुनै तयारी छैन ।’

यसअघिका प्रधानमन्त्रीहरू औपचारिक विदेश भ्रमणमा जाँदा सेनाले गार्ड अफ अनर दिने पनि परिपाटी थियो । यो परिपाटी पनि आज भंग हुन सक्छ । प्रधानमन्त्री निकट स्रोतले गार्ड अफ अनर अनिवार्य लिनै पर्ने कुनै प्रोटोकल वा कानूनी वाध्यता रहे/नरहेको अध्ययन भइरहेको बतायो ।

‘कुनै नियम-कानून वा कार्यविधिले त्यस्तो अनिवार्यता गरेको भए बेग्लै कुरा । होइन भने प्रधानमन्त्रीले गार्ड अफ अनर पनि लिनुहुन्न । अरु देशमा पनि हामीले यस्तो अभ्यास देखेका छैनौं,’ स्रोतले भन्यो ।

प्रधानमन्त्रीको भ्रमण दल पनि विगतको तुलनामा छरितो छ । प्रधानमन्त्री शाहसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुईजना सुरक्षाकर्मी र एकजना शिष्टाचार अधिकृत न्युयोर्क जानेछन् । मंगलबार साँझ ७ बजे कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली भने अमेरिका पुगिसकेको छ । प्रधानमन्त्रीका स्वकिय सचिव प्रदीप परियार र सुवास शर्मा पनि न्युयोर्कमै छन् ।

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको ‘जनरल डिबेट’ लाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता हुने छ । प्रधानमन्त्री शनिबार काठमाडौं फर्कनेछन् ।