नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन आफैले लेखेको राजनीतिक दस्तावेजमा परेको बताएका छन्।
ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यदलले ल्याएको प्रतिवेदन ढिला प्राप्त भएको जिकिर गरेका छन्।
‘पुनर्गठन कार्यदलको प्रतिवेदन पार्टीको सम्पत्ति भइसक्यो। त्यसलाई सम्पत्तिको रूपमा राख्ने निर्णय भएको छ,’ ओलीले भने, ‘त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको दस्तावेज प्रतिवेदन तयार भयो।’
एमाले पुनर्गठन कार्यदलमा संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन बनाएका थिए। बादलको प्रतिवेदन ओलीका पक्षमा थियो भने पोखरेलको प्रतिवेदनमा नेतृत्व परिवर्तन हुनुपर्ने उल्लेख थियो।
त्यसपछि दुवै प्रतिवेदनलाई मिलाएर नेता प्रदिप ज्ञवालीले तेस्रो प्रतिवेदन बनाएका थिए। त्यसमा नेतृत्व परिवर्तनको विषय समेटिएको थिएन भने तल्लो तहबाट आएका सुझावलाई अनुसूचिमा राख्ने सहमति भएको थियो।
त्यही प्रतिवेदन पनि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा प्रवेश नदिने भएका हुन्। उनले आफ्नै राजनीतिक प्रतिवेदनमा सबै विषय समेटिएको जिकिर गरे।