उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले फाइल अड्काउने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन्।
शुक्रबार खानीसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा उद्योगको संरक्षण, प्रवर्द्धन र राष्ट्रिय पूँजी निर्माणमा यस क्षेत्रले पुर्याउन सक्ने योगदानलाई गम्भीरताका साथ हेर्नुपर्ने उनले बताएका हुन्।
समितिमा धारणा राख्दै सभापति अन्सारीले नेपाल खनिज पदार्थको प्रचुर सम्भावना बोकेको र त्यसको सही व्यवस्थापन गरी रोजगारी र कुल गार्हस्थ्य उत्पादन बढाउने बताए। राज्यलाई नोक्सान नहुने गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए।
विधेयकमा ६० भन्दा बढी संशोधनहरू प्राप्त भएको उनले जानकारी दिए। उनले सरोकारवालाका समस्या र व्यावहारिक अनुभवहरूलाई ध्यानमा राखेर कानुन परिमार्जन हुनपर्ने सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन गराए।