काठमाडौँको बूढानीलकण्ठमा एक व्यक्तिलाई निर्धात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ ३० गते बेलुका साढे ९ बजेतिर बूढानीलकण्ठ नगरपालिका-२ गाम्चा पिपलबोटस्थित सडक खण्डमा समूहमा आएका अपरिचित व्यक्तिहरू कुटपिट गरी फरार भएका थिए। पीडितले जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएका थिए।
त्यसपछि खटिएको प्रहरीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दै आरोपितलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ-२ भंगालका २४ वर्षीय सुशान नगरकोटी, उदयपुरको भलाडाँडा-९ गाईघाट घर भई बङ्गालका २२ वर्षीय अभिषेक मगर, २५ वर्षीय सुरेश मगर र सुर्खेतको वीरेन्द्रनगर-९ स्थायी घर भई हाल बूढानीलकण्ठको महादेव खोला बस्ने २८ वर्षीय नरेश गन्धर्व रहेका छन्।
चारै जना काठमाडौँको भङ्गालबाट पक्राउ परेका काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए। उनीहरूमाथि थप कारबाही अगाडि बढाएको पनि थापाले बताए।