वैज्ञानिक अध्ययनले खुलायो भोटेकोसी बाढीको कारण, २०७२ को भूकम्पसँग पनि सम्बन्ध

 संवाददाता    २०८३, २ आश्विन शुक्रबार १४:००     7 जनाले पढ़िसके



Spread the love

२०८३ भदौ १० गते नेपालको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीको मुख्य कारण जलवायु परिवर्तन भएको निचोड विश्व वैज्ञानिकहरूले निकालेका छन्।

तिब्बतको ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोसी नदीमामा मिसिएको तीव्र बेगको बाढीमा परी यो खबर तयार पार्दासम्म १ हजार ४ सय ६ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अझै ६ हजार जना बेपत्ता छन्। यस्तै बाढीले खर्बौंको भौतिक संरचना ध्वस्त पारेको छ।

बिनावर्षाको त्यस्तो बाढी कसरी आयो भन्ने विषयमा अध्ययन गरिरहेका विश्वभरका वैज्ञाननिकले यसमा जलवायु परिवर्तनकै महत्त्वपूर्ण भूमिका देखिएको निष्कर्ष निकालेका हुन्।

बढ्दो तापक्रमले हिमनदी पातलिनु, पर्माफ्रोस्ट अर्थात् लामो समयदेखि जमिरहेको जमिन पग्लिनु र हिमाली ढलान कमजोर बन्ने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन्।

विश्व मौसमसम्बन्धी अध्ययन समूह (डब्ल्यूडब्ल्यूए) ले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार ‘यो विपद् कुनै एउटै चरम मौसमी घटनाको परिणाम होइन। दीर्घकालीन तापवृद्धि, हिमनदीको क्षय, पर्माफ्रोस्टको ह्रास, अत्यधिक पग्लने पानी र भौगर्भिक अस्थिरताले एकअर्कालाई प्रभाव पार्दा यो ‘बहुआयामिक संकट’का रूपमा विकसित भएको हो।’

‘हामी हिमालयका पर्वतीय वातावरणमा आधारभूत र उल्ट्याउन नसकिने परिवर्तनहरू भइरहेको देखिरहेका छौँ’, उत्रेख्ट विश्वविद्यालय, नेदरल्यान्ड्सका पर्वतीय जलविज्ञानका प्राध्यापक तथा अध्ययनका सहलेखक वाल्टर इम्मर्जेलले भनेका छन्।

उनका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले हिमालयमा शून्य डिग्री सेल्सियसको हिउँ जम्ने सीमा करिब १०० मिटर प्रतिदशक माथितिर धकेलिरहेको छ। यसले पहिले स्थायी रूपमा जमेर रहेका चट्टान र पर्माफ्रोस्टलाई लामो समयसम्म न्यानो तापक्रमको सम्पर्कमा ल्याउँदै हिमाली ढलानको स्थायित्व कमजोर बनाइरहेको छ।

नेपालका बाढीविज्ञ विनोद पराजुली पनि जलवायु परिवर्तनकै असरले ठुलो विध्वंस मच्चाएको बताउँछन्।

‘त्यो क्षेत्रमा तापक्रम बढेको देखियो, जुन स्वाभाविक छैन, यो जलवायु परिवर्तनको एउटा कारक हो’, उनले भने, ‘यसका लागि विभिन्न तथ्यांक संकलन/अध्ययन गरिरहेका छौँ।’

उनका अनुसार यसलाई बाढी नभनेर अर्कै नाम राख्नुपर्ने विषयमा छलफल चलिरहेको छ।

चट्टान र हिमबरफको ठुलो भाग खसेपछिको विपद्

अध्ययनअनुसार भदौ १० गते लाङटाङ लिरुङ हिमालबाट करिब दुई वर्ग किलोमिटर क्षेत्रफलको ठुलो चट्टानी भाग र त्यसमा रहेको हिमबरफ भत्किएको थियो। करिब ५ हजार १५० मिटर उचाइबाट खसेको उक्त विशाल भाग करिब १ हजार ४०० मिटर तल उपत्यकातर्फ आएको थियो।

चट्टान र हिमबरफको यो विशाल बहावले सुरुमा ठुलो ऊर्जा सिर्जना गर्‍यो। चट्टान र बरफको विशाल पहिरो तल झरेपछि त्यसले माटो, चट्टान र बरफसहितको विनाशकारी बाढीको रूप लियो र खोलामा मिसिएर आकस्मिक बाढी आयो। बाढीले नदी आसपासका बस्ती र पूर्वाधारमा व्यापक क्षति गर्‍यो।

घटनाको प्रारम्भिक समयमा उत्पन्न भूकम्पीय संकेतका कारण यसलाई सुरुमा भूकम्पसँग जोडिएको थियो। तर पछि गरिएको विश्लेषणले उक्त कम्पन वास्तवमा पहाडको ठुलो चट्टानी तथा हिमबरफयुक्त भाग तीव्र रूपमा भत्किँदा उत्पन्न भएको देखाएको विश्व मौसम अध्ययन समूहले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

डब्ल्यूडब्ल्यूएको अध्ययनअनुसार घटनाअघि जुलाई र अगस्ट असार , साउन र भदौको पहिलो साता सो क्षेत्रमा अभिलेख राख्न थालेयताकै सबैभन्दा तातो थियो। अगस्टमा हिमालय क्षेत्रको औसत तापक्रम सामान्यभन्दा करिब ५ डिग्री सेल्सियसभन्दा बढी थियो। त्यस तापवृद्धिमध्ये करिब १.५ डिग्री सेल्सियस मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित रहेको अध्ययनले जनाएको छ।

घटनाभन्दा ठिकअघि भदौ ८ र ९ मा पहिरो भएको उचाइमा औसत तापक्रम करिब ५ डिग्री सेल्सियस पुगेको थियो भने दैनिक अधिकतम तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। विगतमा भने त्यही समयमा त्यहाँको औसत तापक्रम करिब २.७ डिग्री सेल्सियस रहेको र सामान्यतया ६ डिग्री सेल्सियसभन्दा माथि नजाने गरेको वैज्ञानिकहरूले बताएका छन्।

विक्रम सम्वत् २०५६ यता यस क्षेत्रका हिमनदी हरेक वर्ष करिब आधा मिटर पातलिइरहेका छन्। हिमनदीको क्षयले चट्टानमा पर्ने प्राकृतिक दबाब र स्थायित्वमा परिवर्तन ल्याउनुका साथै थप पग्लने पानी उपलब्ध गराएको अध्ययनले जनाएको छ।

त्यस्तै सन् २०२५ अक्टोबर र नोभेम्बरमा असामान्य रूपमा भएको भारी हिमपातले त्यसपछि तापक्रम बढ्दा पग्लने पानीको मात्रा थपेको थियो। यसले पनि पहाडको अस्थिरतामा योगदान गरेको हुनसक्ने वैज्ञानिकहरूको आकलन छ।

२०७२ वैशाख १२ को भूकम्प पनि सम्भावित कारक
२०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको महाभूकम्प जाँदा लाङटाङ लिरुङ क्षेत्रमा ठुलो क्षति भएको थियो। त्यस भूकम्पले पहाडको भित्री चट्टानी संरचना कमजोर बनाएको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्।

तर भदौ १० को घटनामा त्यस भूकम्पको ठ्याक्कै भूमिका कति थियो भन्ने अझै निश्चित छैन। वैज्ञानिकहरूको निष्कर्षअनुसार यो भौगर्भिक रूपमा कमजोर ढलान थियो, जसलाई महाभूकम्पले थप कमजोर बनाएको थियो भने पछिल्लो समय हिमनदी र पर्माफ्रोस्टको क्षय, अत्यधिक पग्लने पानी र असाधारण तापक्रमले अस्थिरता थप बढाएको हुनसक्छ।

‘यो एउटै चरम मौसमी घटना थिएन’
डब्ल्यूडब्ल्यूएका वैज्ञानिकहरूले यो अध्ययनलाई कुनै एउटै मौसमी घटनाको कारण निर्धारण गर्ने परम्परागत अध्ययनका रूपमा नभई धेरै चरणमा विकास भएको पहाडी विपद्को समग्र विश्लेषणका रूपमा प्रस्तुत गरेका छन्।

इम्पेरियल कलेज लन्डनका जलवायु अनुसन्धानकर्ता बेन क्लार्कका अनुसार ‘यो घटना आफैँमा चरम मौसमी घटना थिएन, तर दीर्घकालीन वातावरणीय परिवर्तनमा जलवायु परिवर्तनका प्रभाव देखिन्छन्।’

अलजजिराका अनुसार इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडेरिके ओटोले पनि मानवजनित जलवायु परिवर्तनले विपद्को पूर्वअवस्था तयार पार्न भूमिका खेलेको बताएकी छन्।

उनका अनुसार पर्माफ्रोस्ट पग्लिनु, हिमनदी पातलिनु र पहिले हिउँ पर्ने क्षेत्रमा बढी वर्षा हुनुजस्ता परिवर्तनले विपद्को जोखिम बढाएको छ। जलवायु परिवर्तनलाई यस घटनाको क्षति तथा नोक्सानीको सन्दर्भमा पनि छलफल गर्नुपर्ने उनको भनाइ छ।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा औद्योगिक राष्ट्रहरूको तुलनामा निकै कम योगदान गरे पनि जलवायु परिवर्तनका कारण बढ्दो हिमाली जोखिमको सामना गरिरहेको छ।

वैज्ञानिकहरूको निष्कर्षले हिमालयमा जलवायु परिवर्तनले एउटा मात्र जोखिम बढाइरहेको नभई हिमनदी, पर्माफ्रोस्ट, चट्टान, पानी र भूगर्भीय प्रक्रियाबीचको जोखिम शृंखलालाई थप जटिल बनाइरहेको देखाएको छ।

डब्ल्यूडब्ल्यूएले हिमाली क्षेत्रमा बढ्दो जोखिमसँग जुध्न थप वैज्ञानिक निगरानी, पूर्वसूचना प्रणाली र विपद् तयारी आवश्यक रहेको औँल्याएको छ।

तर अध्ययनले देखाएको अर्को चुनौती के हो भने यस्ता बहुआयामिक विपद्को आकार केही अवस्थामा विद्यमान अनुकूलन क्षमताभन्दा पनि ठुलो हुन सक्छ।