बाढीपछिको पुनर्निर्माणप्रति रास्वपा महामन्त्रीको प्रश्न– ‘यो पाराले कसरी विश्वास गर्ने?’

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार १५:४०     10 जनाले पढ़िसके



Spread the love

रास्वपाका महामन्त्री विपिन आचार्यले सिंहदरबारभित्र जेनजी आन्दोलनमा जलाइएको संरचना निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्यको मुटु नै मानिने सिंहदरबार र संसद्कै निर्माण गति सुस्त भइरहेको बताए। यो अवस्थामा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने? भन्दै प्रश्न गरे।

उनको भनाइ जस्ताको त्यस्तै-

म घरबाट महाराजगन्ज र नक्सालका बाटोबाटै नै हुँदै सदनमा आउँछु। भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ।

तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु। योपालिको बजेट नै नयाँ संसद् हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु।

राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने? के के नीतिगत र व्यावहारिक कमजोरीहरू छन्, त्यो पत्ता लगाऔँ। यो पुनर्निर्माणको गतिलाई बढाऔँ।