सरकारले कोशी प्रदेशका सचिवलाई शव व्यवस्थापनको जिम्मेवारी दिएर रसुवा पठाइएकोप्रति कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आलोचना गरेका छन् । मानवीय विपत्तिको घडीमा सरकारले आवेगमा निर्णय लिएको उनको टिप्पणी छ ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरी निरौलालाई संघीय सरकारकी सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले हिजो रसुवामा काज सरुवा गरेकी थिइन् ।
निरौलाले रसुवा बाढीमा निधन भएकाहरूको शव जमिनमुनि व्यवस्थापन गर्ने कार्यको आलोचना गर्दे फेसबुकमा स्टाटस लेखेका थिए । उनले शव व्यवस्थापनमा आफू अनुभवी रहेको भन्दै केही सुझाव पनि दिएका थिए । त्यसगत्तै उनलाई मन्त्रालयले शव व्यवस्थापनकै लागि रसुवा खटाइएको हो ।
कांग्रेस महामन्त्री शर्माले भने सचिव निरौलालाई उनको विज्ञताका आधारमा नभएर फेसबुकमा लेखेको स्टाटसकै कारण सरुवा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले एउटा भिडिओमा भनेका छन्, ‘पार्टी कार्यालयबाट साँझपख आफ्नो डेरा जाँदै गर्दाखेरि भर्खर मैले एउटा समाचार हेरेँ कि सरकारले कोशी प्रदेशको एकजना सचिवज्यूलाई शव व्यवस्थापन गर्नका लागि रसुवा खटाएको छ । ती सचिवज्यूको योग्यता, क्षमता, विज्ञता, अनुभव शव व्यवस्थापन सम्बन्धी हो कि त भनेर बुझेको, सरकारले खटाएको कारण अर्कै रहेछ । उहाँले लेख्नुभएको रहेछ कि शव व्यवस्थापन गर्दै गर्दाखेरि परिवारको संवेदनशीलतालाई ख्याल गरियोस् भनेर ।
त्यसरी लेख्नु एकजना कर्मचारीले सही गर्नुभयो या गलत गर्नुभयो, म यसमा जान चाहन्न । तर मेरो बाबा, मेरो आमा या मेरो परिवारको कोही प्रियजन सुरुङभित्र छन् या नदीमा कतै हराएका छन्, भेटिएलान्, फर्किएलान्, कहिले आउलान् भनेर पर्खिरहेको परिवारजनले प्रतीक्षा गरिरहँदा कसलाई भर गर्ने ? कसैको निधन भयो, शव भेटियो भने शव व्यवस्थापन गर्दै गर्दा सरकारले कसलाई भर गर्ने ? मान्छे खटाउँदै गर्दा कसलाई खटाउने ? सम्बन्धित विषयको ज्ञान राख्नेलाई खटाउने कि मन्त्रीज्यूलाई मन लाग्यो, प्रधानमन्त्रीज्यूलाई मन लाग्यो, गृहमन्त्रीज्यूलाई मन लाग्यो, आवेगमा अह्राइदिउँ, खटाइदिउँ, आदेश दिऊँ, डाँडा कटाइदिऊँ भनेर हुन्छ ?
यो बिल्कुल गलत भएको छ सरकार । यो खालको आवेगले होइन, यो मानवीय विपत्तिको यो घडीमा हामी प्रतिपक्षमा रहेकाहरू पनि सरकारलाई सघाइरहेका छौँ, सघाउन चाहिरहेका छौँ, निरन्तर सघाउने नै छौँ । निसन्देह सघाउन चाहन्छौँ । तर यो खालको व्यवहार सरकारले बिल्कुल नगरोस् ।‘