रसुवा बाढीमा भएको क्षतिका विषयमा हिमालय सीमापार बाणिज्य संघले सरकारसमक्ष ज्ञापनपत्र दिने भएको छ ।
भदौ १० को बाढीले करिब ८ खर्ब रुपैयाँको आर्थिक तथा भौतिक क्षति गरेको भनी सरकारद्वारा प्रस्तुत आँकडाबमोजिम संघले आफ्नो व्यवसाय, व्यवसायी, रोजगार तथा आश्रित जनशक्तिको पक्षमा काम गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र पेश गर्न लागेको प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठले बताए । हालसम्मको प्रारम्भिक अनुमानमा व्यवसायसँग सम्बन्धित १ हजार ५ सयभन्दा बढी जनशक्ति सम्पर्कबाहिर रहेको संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
श्रेष्ठका अनुसार संघले घाइते तथा बेपत्ताको तत्काल खोजी तथा उपचारको व्यवस्था, मृतक पहिचान भइसकेका परिवारलाई सहज रुपमा शव उपलब्ध गराउँदै मृत्यु संस्कारका निम्ति लाग्ने खर्चसहित क्षतिपूर्ति, चीनबाट नेपालतर्फ सामग्री आयातका निम्ति रसुवा ल्याइपुर्याइएका सामानको मूल्याङ्कनको आधारमा क्षतिपूर्ति तथा भन्सार राजस्व फिर्ता, बीमा भएका गाडी, सामान, प्रभावित व्यक्ति तथा अन्य सामाग्रीको बीमा रकम तत्कालै उपलब्धता, नेपालस्थित भन्सार यार्डमा रहेका ३ सय भन्दा ज्यादा विद्युतीय सवारी साधन (ईभी) को बीमा तथा क्षतिपूर्तिको व्यवस्थापन, चीनतर्फबाट आयात गरिँदै रहेको अवस्थाका लत्ताकपडा, विद्युतीय उपकरण, तरकारी तथा फलफूललगायत विभिन्न खाद्यान्न, विलासिताका सामग्रीसहित क्षतिग्रस्त सामाग्रीको यथासक्य क्षतिपूर्तिलगायतका माग प्रस्तुत गरिने भएको छ ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अगुवा सुमन खत्रीले रसुवा नाका पूर्णतः क्षतिग्रस्त भइसकेको अवस्थामा वैकल्पिक नाकाका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने बताए । वैकल्पिक नाकाका रुपमा चर्चामा रहेको मुस्ताङ जिल्लास्थित कोरला नाका भूबनौट तथा दूरीका हिसाबले अपायक हुँदा ढुवानीको लागत, समय र जनशक्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । त्यसैले काठमाडौँ उपत्यकाबाट नजिकको सिन्धुपाल्चोकस्थित तातोपानी नाका खुला गर्न नेपाल–चीनबीच कूटनीतिक पहलकदमी लिनुपर्ने उनले बताए ।
बाणिज्य संघले सहज व्यापारको प्रबन्धका निम्ति भूबनौट सहज रहेको स्थानको पहिचान गरी भन्सार यार्ड निर्माणका निम्ति पनि माग गर्ने भएको छ । ज्ञापनपत्र अध्यक्ष रामहरि कार्कीको नेतृत्वमा बुझाइने प्रथम उपाध्यक्ष श्रेष्ठले बताए ।