भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीस्थित नेपाली राजदूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
भारत सरकार र भारतीय जनताको तर्फबाट रक्षामन्त्री सिंहले भदौ १० गतेको भीषण बाढीबाट भएको क्षति र ठूलो मात्रामा भएको विनाशप्रति नेपाली जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गरेका हुन्।
‘यो दुःखद प्राकृतिक विपत्तिले नेपाली नागरिकका साथै भारतीय नागरिकसहित धेरै विदेशी नागरिकलाई प्रभावित पारेको छ। यस विपत्तिमा ज्यान गुमाउनेहरुका परिवारप्रति हाम्रो संवेदना र प्रार्थना छ। हामी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
उनले भारत एक घनिष्ठ मित्र र साझेदार तथा ‘सुख-दुःखको साथी’भएको भन्दै सधैँ नेपालको साथमा उभिने बताएका छन्।
यस कठिन समयमा पनि भारत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएको र खोज, उद्धार तथा पुनर्स्थापनाका लागि नेपालको प्रयासलाई सहयोग गर्न प्रतिबद्ध रहेका बताएका छन्।